ए थारूहरु हो !

हलियाको छोराले चुनाव जित्यो
हलियाको छोराले सपथ पनि लियो
तर
संसद भवन छिर्न पाएन
झ्यालखानमा कोचियो
आज
अस्पतालको शैय्यामा पनि
खुट्टामा नेल सहित छ ।

के ऊ ज्यानमारा भएरै जेल परेको हो ?
के यस्ता मुद्दा
हालका सत्ताधारीलाई थिएनन्रु
थिए , जरुरी थिए
उनीहरूका
टाउकाका मोल पनि थिए
तर उनीहरू उम्किए
एउटा थारूको बच्चो
छ आज पिँजडामा ।

कस्ले भन्छ
यहाँ जातीय विभेद छैन ?
कसले भन्छ
यहाँ बर्गीय शोषण छैन ?
ए थारूहरू हो
ए उत्पीडित जातिहरू हो
ए न्यायप्रेमी मान्छेहरू हो
तिमीहरू भित्रको
न्यायको लागि डुक्रने बाघ
के मरिसक्यो ?