‘गौरीगंगा नगरपालिकाले सुत्केरी महिलालाई एम्बुलेन्स् फ्रि’
धनगढी, ५ असार । गौरीगंगा नगरपालिकाले नगर भित्रका सुत्केरी महिलाहरुलाई ‘फ्रि’ मा एम्बुलेन्स् उपलब्ध गराउने भएको । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ.ब. २०७६÷०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउदै एउटा एम्बुलेन्स सुत्केरी महिलाहरुकै लागि खरिद गरेको बताए ।सुत्केरीलाई तुरुन्त अस्पताल पुर्याउन सजिलो हुनुका साथै शिशु र आमा दुबै यातायातकै कारणले जोखिममा नपरुन भन्ने उद्देश्यले नीतिगत रुपमै यस्तो प्रस्ताब ल्याएको बताए ।
नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यालाई मध्यनजर गरी प्रत्येक ससुत्केरी महिलालाई एक केजी ध्यू, हरियो सागपात, गेडा गुडी लगायत पोषिलो खाने कुरा लिएर बधाई दिने गरेको बताए । अरुले पनि बधाई दिने क्रममा यस्ता पोषिलो खाने कुरा गिफ्ट गर्न प्रमुख देउवाको आग्रह थियो ।
“समृद्ध गौरीगंगा नगर विकासको आधारः कृषि, जैविक विविधता, पर्यटन र पूर्वधार” भन्ने नारा सहित तयार पारेको नीतिमा भौतिक पूर्वधार, कृषि तथा पशुपालन, शिक्षा तथा खेलकुद, स्वास्थ्य खानेपानी तथा सरसफाई, सुशासन, बन वातावरण तथा भूसंरक्षण, महिला बालबालिका तथा यूवा, आदीबासी जनजाती, दलित अपांगता, जेष्ठ नागरिक, सामाजिक विकास, विद्युत, पर्यटन, राजस्व तथा आर्थिक नीति तयार पारेका छन् ।
यी नीतिहरुलाई पूर्णता दिनकोलागि गौरीगंगा नगरपालिकाको आयोजनामा ओरक नेपाल, एफएमडिसी लगायतको संस्थाको समन्य र सहकार्य रहेको थियो ।














