धनगढी उपमहानगरपालिकामा छुट्टै स्तनपान कक्ष

धनगढी, ४ असार । धनगढी उपमहानगरपालिकाले स्तनपानको लागि छुट्टै कक्ष निर्माण गरेको छ । कार्यालयमा कार्यरत महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरेको हो ।

धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशीला मिश्र भट्टले कर्मचारी र सेवाग्राही दुबैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताइन् । उनले कार्यालयमा महिला कर्मचारीलाई स्तनपानमा समस्या भोग्ने गरेको र सेवाग्राहीले झन समस्या भोग्ने गरेका कारण समस्यालाई बुझेर स्तनपान कक्ष निर्माण गरिएको बताइन् ।

उपमहानगरले निर्माण गरेको स्तनपान कक्षमा एकैपटक पाँच जनासम्मले स्तनपान गराउन सक्नेछन् ।

उपमेयर भट्टले लामो प्रयासबाट निर्माण गरिएको स्तनपान कक्ष अपांगा मैत्रीहोस् भनेर तल्लो तल्लामै सो कक्षा स्थापना गरिएको बताईन् । उनले निर्माण गरिएको कक्ष सञ्चालन भएको एक हप्ता पुगिसकेको बताईन् ।

निश्चित अवधिको सुत्केरी विदापछि महिला कर्मचारीहरुले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका बीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि लामो समयदेखि अधिकारकर्मीहरुले पनि पहल गरिरहेका थिए ।