एक हजार भन्दा बढि बालिकालाई शैक्षिक समाग्री सहयोग

कैलाली, २२ जेठ । आर्थिक स्थिती कमजोर भएका कैलाली र कञ्चनपुरका एक हजार बढी छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

कैलालीका ३३ र कञ्चनपुरका १३ गरी ४६ सामुदायिक विद्यालयका एक हजार तीन सय ६२ छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

युएसएआईडी (अमेरिकी जनताको) आर्थिक सहयोगमा रेष्ट काठमाण्डौ र महिला विकास समाज धनगढीको साझेदारीमा संचालित एसजिटी अन्तर्गतको बालिका शैक्षिक सहयोग कार्यक्रमको पहिलो चरणको कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

कैलाली–कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्ययनरत मुक्त कमैया, मुक्त कमलहरी, दलित, टुहुरा र विपन्न वर्गका जोखिममा पर्ने बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

पहिलो चरणको शैक्षिक सामाग्रीका विवरण कार्यक्रम अन्तर्गत एक हजार तीन सय ६२ छात्राहरुलाई प्रति छात्रालाई कापी २२ वटा पिस, डट्पेन २०, इरेजर ५ वटा, ज्याम्ट्रिबक्स एक वटा, झोला एक, विद्यालय पोषक एक जोडा तथा पोशाक सिलाई खर्च पाँच सय रुपैया नगद सहयोग गरिएको महिला विकास समाज धनगढीका अध्यक्ष शान्ति शर्माले बताईन् ।