‘टीकापुर घटना राजनीतिकरुपले समाधान होस्’

धनगढी, २१ जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकोले समाधान पनि राजनीतिबाटै हुने बताए । उनले यो घटनालाई अदालत फैसला गर्न नसक्ने ठोकुवा गरे ।

मंगलबार धनगढीमा थारु अगुवाहरुसंगको भेटघाटमा उनले यस्तो बताए । थारु अगुवाहरुले थरुहट आन्दोलनप्रतिको बुझाई, संविधान संशोधन, थारुमा बढिमात्रमा देखिएको सिकलसेल रोग, सरकारले लोकसेवा आयोगकोलागि निकालिएको विज्ञापन, भूमि समस्या समाधान जस्ता विषयमा छलफल गरेका थिए ।

छलफललाई सहजीकरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले संविधानमा उल्लेखित धेरै कुरा राम्रो भएपनि त्यसको कार्यन्वय फिलतो भएको कारण पछाडी पारिएका समुदाय झन अन्यायमा परिहरेको महशुस गर्न बाध्य भएको बताए । उनले अधुरो र अपुरो क्रान्तिलाई पुरा गर्न देशमा पुन जनआन्दोलनको खाचो रहेको बताए ।

त्यसै गरी स्वास्थ्य मन्त्री उपेन्द्र यादबले थरुहट आन्दोलन अधिकारको आन्दोलन भएकोले टीकापुर घटनाका आरोपितहरुलाई फैजदारी मुद्धा लगाउनु अर्को अन्याय रहेको बताए । उनले टीकापुर घटनाको समाधान राजनीतिकबाटै सुल्झाउनुपर्ने बताए ।

उनले नेपालमा ७ वटा प्रदेश कुनै हालतमा व्यवहारिक हुन नसकेको बताउदै यसको परिणाममा सबै भन्दा बढि उत्पीडन थारु र मधेशी समुदाय भएको बताए ।