शक्तिशाली धामी बन्ने विश्वासमा बालकको बली, धामी पक्राउ

धनुषा, १६ जेठ । मिथिला नगरपालिका –६ मा अढाई वर्षीय बालकको धामीको संलग्नता हत्या भएको पुष्टि भएको छ ।

गएको वैशाख २३ गते हराएका बालक आर्यनको वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी ५५ वर्षका सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ ।

धामी झाँक्रीमा आफू शक्तिशाली हुने अन्धविश्वासका कारण बालक आर्यनको बली दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

हत्यारा महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीनसाता पछि बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा महतोले बालकलाई फकाएर अपहरण गरेका थिए ।

त्यही दिन महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएको बयान खुलेको छ ।

बली पश्चात बालकलाई कृष्णानन्दनको बारीमा रहेको झाडीमा बालकको शव फालेका थिए । महतोका घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ ।