एउटा महिलाले २ लाख १० हजार रुपैयाँ महिनावारी हुँदा खर्च गर्छिन्
आज मे २८ अर्थात महिनावारी स्वच्छता दिवस । अंग्रेजी पाँचौ महिना मे २८ तारिखका दिन विश्वभर महिनावारी स्वच्छना दिवस मनाइन्छ । नेपालमा भने यो दिवस सन् २०१४ देखि मात्रै मनाउन थालिएको हो ।
अभियन्ता तथा छाउप्रथा विरुद्ध वकालत गर्दै आएकी राधा पौडेलका अनुसार हरेक महिला सरदर २८ दिनको फरकमा करिब ५ दिन महिनावारी हुने (रगत बग्ने) भएकाले अंग्रेजी पाँचौ महिना मे र २८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालय तथा यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको संजालले दिवसको अवसरमा आज मंगलबार दिउँसो एक कार्यक्रम गर्दैछन् । त्यस्तै मन्त्रालयले सबै जिल्लामा पनि यो दिवस मनाउन पत्राचार गरिसकेको जानकारी दिएको छ ।
मर्यादित महिनावारी अभियानका अभियन्ता गुणराज श्रेष्ठका अनुसार नेपालमा १३ वर्षदेखि ४९ वर्ष उमेर समूहका महिनावारी भइरहेका महिलाको जनसंख्या करिब १ करोड ४० लाख छ । तर पछिल्लो समय ९ र १० वर्षदेखि नै बालिकाहरू महिनावारी हुन थालेकाले यो संख्या बढी छ ।
नेपाली महिलाहरूले आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्छन् । महिलाहरूले आफ्नो जीवनमा झन्डै २ लाख १० हजार रुपैयाँ महिनावारी हुँदा खर्च हुने विभिन्न अध्ययनले देखाउको छ । यो रकम औसत नेपाली परिवारले शिक्षामा खर्च गर्ने रकम जति नै हो ।
स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार करिब २२ प्रतिशत किशोरीहरूलाई महिनावारी सम्वन्धि पर्याप्त जानकारीको अभाव छ ।
वाटर एडको एक अध्ययन अनुसार १० मध्ये ९ किशोरीहरूलाई सामाजिक तथा सांस्कृतिक जीवनमा कुनै न कुनै प्रतिबन्ध छ ।
युनिसेफका अनुसार ६९ प्रतिशत सार्वजनिक विद्यालयमा मात्र छात्राहरूका लागि छुट्टै चर्पी छ । युनिसेफकै अर्को अध्ययन अनुसार प्रदेश ६ र ७ का करीव ७१ प्रतिशत महिलाहरूले छाउ प्रथा मान्ने गरेका छन् । करिब ५२ प्रतिशत छात्राहरू महिनावारी भएका दिनमा विद्यालय जाँदैनन् । महिला खबरबाट













