एक महिनामा एक सय ८८ महिलामाथि हिंसा, सबै भन्दा बढि आफन्तबाटै पीडित
ललितपुर, १३ जेठ । गएको बैशाख महिनामा नेपालमा एक सय ८८ महिलामाथि हिंसा भएको छ । ओरेक नेपालका अनुसार एक महिनामा देशमा एक सय ८८ महिलाले विभिन्न हिंसाको सामना गर्नुपरेको हो । ओरेक नेपालले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो एक महिनाको अवधिमा संस्थामा एक सय ५७ लैंगिक विभेदका घटना दर्ता भए । त्यस्तै विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित ३१ वटा लैंगिक विभेदमा आधारित हिंसाका घटनालाई पनि अभिलेख गरी सार्वजनिक गरिएको हो ।
ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाई विश्लेषण गर्दा बैशाख महिनामा एक सय ९ वटा (५८ प्रतिशत) घरेलु हिंसाका घटना भए ।
यसैगरी ४० वटा (२१ प्रतिशत) यौन हिंसा, २४ वटा (१३ प्रतिशत) सामाजिक हिंसा, ११ वटा (६ प्रतिशत) हत्याका घटना भए । जम्मा घटनाको २ प्रतिशत (माथिकाबाहेक) अन्य प्रकारका घटना भए । २ प्रतिशत मध्य ४ वटा घटना मध्य एक जनालाई अलपत्र पारीएको र ३ वटा अनलाइनमार्फत हिंसा भएको तथ्याङ्क प्राप्त भएको छ । यी सबै हिंसाका पीडक भने पुरुष हुन् ।
उमेरको आधारमा विश्लेषण गर्दा बैशाख महिनामा मात्रै सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत (६६ जना) महिलाहरू हिंसामा परेका छन् । दोस्रो हिंसामा पर्ने सबै भन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका छन् । जो ३१ प्रतिशत (५८जना) छन् ।
हिंसामा संलग्न पुरुषको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेरका छन् । यो उमेर समूहका ३६ प्रतिशत (६७ जना) ले महिलामाथि हिंसा गरेका छन् । ३६ देखि ४५ वर्ष उमेर समूहका २६ प्रतिशत (४९ जना) र १७ देखि २५ वर्ष उमेर समूहका १८ प्रतिशत (३४जना) पुरुषहरू हिंसामा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ५४ प्रतिशत महिलामाथि (एक सय २ जना) श्रीमानबाटै हिंसा भएको छ । १६ प्रतिशत (३० जना) महिलामाथि छिमेकीबाट हिंसा भएको छ भने १४ प्रतिशत (२६ जना) महिलामाथि परिवारका सदस्यबाटै हिंसा भएको छ ।
निष्कर्ष
तथ्याङ्ककलाई विश्लेषण गर्दा महिलाहरू सबैभन्दा बढी घरभित्र र चिनजानेकाबाटै बढी असुरक्षित छन् । त्यस्तै २६ देखि ३५ वर्ष उमेर समूहका महिलामाथि सोही उमेर समूहका पुरुषमार्फत हिंसा भइरहेको छ । यसले समाज परिवर्तनका संवाहकका रुपमा रहनु पर्ने सोही उमेर समूह नै हिंसाको लागि जिम्मेवार भइदिँदा यसले समाज परिवर्तनसंगै सामाजिक न्याय र समग्र देश विकासमा नै बाधा पु¥याएको ओरेकका कार्यकारी निर्देशक न्यौपानेले बताए ।













