सिकलसेल स्क्रिनिङ्ग शिविर संचालन

धनगढी, १२ जेठ । धनगढी उप–महानगरपालिका १५ कनरीमा सिकलसेलका बिरामीहरुको निःशुल्क स्क्रिनिङ्ग (रगतको नमुना) संकलन शिविर संचालन गरिएको छ ।

धनगढी उप–महानगरपालिकाको सहयोग तथा धनगढी डाईग्नोष्टिक तथा रिर्सच सेन्टरको समन्वयमा सिकलसेल एनिमियाका बिरामीहरुको निशुल्क स्क्रिनिङ्ग गरिन थालेको हो ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले धनगढी उप–महानगरपालिका मात्रैले सिकलसेल एनिमिया रोगका लागि स्क्रिनिङ्ग शिविर संचालन गर्ने पहिलो स्थानीय सरकार भएको बताए ।

उनले थारु समुदायमा झण्डै २० देखि २५ प्रतिशतको हाराहारीमा सिकलसेल एनिमिया भेटिने गरेको बताए । यो जनजातीहरुमा देखिने वंशाणु रोग हो डाक्टर बमले भने,अफ्रिकामा जनजाती समुदायमा हुने सिकलसेल नेपालमा फेला परेको हो ।

नगरप्रमुख वडले थारु समुदायका ब्यक्ति यो रोगबाट बढी प्रभावित भएको बताए । थारु समुदायमा बंशाणु रोगको रुपमा सिकलसेल एनिमिया रहेको छ नगरप्रमुख वडले भने, थारुमा छ भन्दैमा अन्य समुदायले ढुक्क भएर बस्ने अबस्था छैन ।

गैर थारु समुदायमा पनि सिकलसेल रोग फेला परेकाले सबैले सजक हुनुपर्ने नगरप्रमुख वडले बताए । सिकलसेल सबै समुदायका लागि साझा शत्रुको रुपमा देखिएको छ नगरप्रमुख वडले भने त्यसले यस बारेमा समुदायमा सचेतना फैलाउनु आवश्यक छ ।

धनगढी उप–महानगरपालिकाले सिकलसेलका बिरामीहरुको चेकजाँचका लागि आगामी दिनमा पनि कार्यक्रम ल्याउने नगरप्रमुख वडले बताए । सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । र, पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । कैलालीमा हालसम्म सिकलसेलका ५८३ विरामी सेती अञ्चल अस्पतालमा दर्ता भएका छन् । जसमध्ये बोहरा, साउँद थरका आठजना गैरथारु र बाँकी सबै थारु हुन ।