यस्तो बस्ती छः जहाँ घर नेपाल, विद्यालय भारतमा

धनगढी, ४ जेठ । कैलारी गाउँपालिकामा यस्तो बस्ती छ, जहाँ घर नेपाली भूमिमा छ तर विद्यालय भने भारतिय भूमिमा पर्दछ । कैलारी गाउँपालिका वडा नं. ७ हौसलपुरका स्थानीयहरु हाल सम्म नेपाली किताब नदेखेको बताउछन् ।

बस्तीका ४५ वर्षिया कालुराम चौधरी भन्छन् ‘हामी नेपाली हौं, हामीसंग नेपालको नगरिकता तर नेपाली भाषा बोल्न आउदैन, बरु हिन्दी भाषा प्रष्टरुपले बोल्न सक्छौं ।’ हाम्रा बच्चहरुलाई अहिले सम्म नेपाली किताब कस्तो हुन्छ थहाँ छैन, पढ्न पाउनुको त के कुरा ? भन्दै प्रतिप्रश्न गरे । उनले भने हाम्रो सिमाना रोडले छुट्याई दिएको छ । रोड वारि नेपाल पारी भारत पर्छ । स्कुलपनि हाम्रो बस्तीदेखि नजिकै छ ।  जसले गर्दा सबै बच्चाहरु भरतमा पढ्न जान्छन् ।

ती बच्चासंग हाम्रो देशको प्रधानमन्त्रीको नाम के हो ? भनेर प्रश्न गर्दा नरेन्द्र मोदी भन्दै जबाफ दिन्छन् । उनीहरुलाई राष्ट्रिय गीत गाउन लगाउदा भारतिय राष्ट्रिय गित गाउने गरेको बताउछन् । उनीहरु नेपालको भन्दापनि भारतको बारेमा बढी जानकार छन् ।

हौसलपुर र बेलापरसुवा गाउँको विचमा पक्की बाटो छ । हौसलपुरका विद्यार्थीहरु बेलापरसुवा पढ्न जान्छ । जहाँ कक्षा ८ सम्म पढाई हुन्छ । त्यो भन्दा माथि बेलराया, लखनउ, पलिया, लखिमपुर बढाउनुपर्ने बाध्यता रहेको स्थानीय बिक्रम चौधरी भन्छन् ।

उनी भन्छन् ‘हौसलपुरमा २८ घरधुरी छौं, स्थानीय सरकार हुनुभन्दा पहिला नेपालबाट हाम्रो बस्तीमा कोही नेपाली आउदैन थिए । हाम्रो बस्तीमा नेपाली मान्छे भेटघाट गर्न आएको पहिलो पटक स्थानीय चुनावमा हो । जुनबेलादेखि नेपाली नेता, नेपाली पत्रकारहरुसंग भेट भयो ।’

 

३० वर्षिय आशिकी चौधरी भन्छिन् ‘बेलापरसुवा पनि त्यति राम्रो पढाई छैन, जसले गर्दा म ९ वर्षिय छोरी दिव्यान्सीलाई देवरसंग लखनउ पढ्न पठाएको छु ।’ हाल दिव्यान्सी सारदा पब्लिक स्कुल कक्षा ३ मा पढ्छिन् । उनलाई मातृ भाषापनि बोल्न आउदैन तर हिन्दी फरर बोल्छिन् ।

हौसलपुरका बासिन्दाहरु आफ्नो बस्तीमा एउटा स्कुलको माग गरिरहेका छन् । उनीहरु आफ्नो बच्चालाई सानैदेखि नेपाली बोल्न सक्ने भएको देख्न चहान्छन् ।

उनी भन्छिन् ‘त्यति मात्रै होईन, रोड पारि बेलापरसुवा विद्युत छ तर वारि हौसलपुर विद्युत पनि छैन बोटापनि कच्चि छ । भौतिक विकासलेपनि हाम्रो बस्तीका समुदायहरुमा मानसिक असर परिरहेको हुन्छ ।’ कुनैबेला हामीलाई धेरै गाह्रो हुन्छ, हामीलाई नेपालको कानूनबारे केही जानकारी छैन, भारतको कानून हाम्रोमा लागु हुदैन । जसले गर्दा केही अपथ्यारो भएको खण्डमा चुप लाग्नु बाहेक केही विकल्प छैन ।

नेपाल सरकारले हौसलपुरका बासिन्दालाई नेपालीको अपनत्व गराउन सो बस्तीमा स्कुल, स्वाथ्य केन्द्र डेक्स, शुद्ध खानेपानी, विद्युत र कानूनी परामर्श केन्द्र स्थापना गर्न जरुरी छ । सो बस्तीका समुदायले भारतसंग मिटेरी गाँसेर नेपाली भूमि त जोगाए तर भारतिय समुदायको व्यवहारले मानसिकरुपमा खेप्दै असरबारे नेपाल सरकार सोच्नै पर्ने देखिन्छ ।