हौसलपुरमा विशेष कार्यक्रमको प्याकेज ल्याउने : गाउँपालिका अध्यक्ष
हसुलिया, २ जेठ । कैलारी गाउँपालिका वडा नं. ७ हौसलपुर गाउँका स्थानीयहरुका लागि विशेष कार्यक्रमको प्याकेज ल्याउने गाउँपालिका अध्यक्ष लाजुराम चौधरी बताए ।
बिहीबार गाउँपालिकाको अनुदान तथा सीसीएस कैलालीको साझेदारीमा सौर्य उर्जा (सोलार पावर) वितरण कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताए । उनले गाउँपालिकाबाट हौसलपुरबासीहरुलाई शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकास कार्यक्रमको लागि विशेष कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा स्थानीय विक्रम चौधरी गाउँको समस्याबारे अध्यक्ष चौधरीलाई जानकारी गराए । उनले भने बस्तीमा खानेपानी, विद्युत, खेतीको लागि मलखाद, बीउविजन, साक्षरताको लागि प्रौढ कक्षा र विद्यार्थीलाई स्कुलको माग गर्दै गाउँपालिकालाई ध्यानाकार्षण गराए ।

कार्यक्रममा वडा नं. ७ को वडा अध्यक्ष कमलप्रसाद चौधरी, नेकपाके चन्द्रिका प्रसाद चौधरी हौसलपुरबासीहरुको समस्या प्राथमिकताको आधारमा समाधान गर्दै जाने बताए । कार्यक्रममा गाउँका २६ घरपरिवारलाई सोलर वितरण गरेका हुन् । यस्तै गाउँपालिकाको अनुदान सहयोगमा शिवरत्नपुरमापनि सोलर वितरण गरेको जनाए ।













