‘विकासका लागि जनप्रतिनिधिलाई खबरदारी गर्न आवश्यक’

धनगढी, १ जेठ । कैलारी गाउँपालिका वडा नम्बर ९ वडा कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार गदरियामा सम्पन्न भएको छ ।

कैलारी गाउँपालिकाको आयोजना र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहजिकरणमा चालु आर्थिक वर्षको योजना र कामको प्रगतिबारे सार्वजनिक सुनुवाइ भएको हो ।

वडा अध्यक्ष खेमराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव ठागुराम चौधरीले चालु आर्थिक वर्षको योजना प्रगति विवरण प्रस्तुत गरेका थिए । सचिव चौधरीले वडा कार्यालयबाट सञ्चालित बाटो ग्राभेल, कालोपत्रे, सीपमूलक तालिम लगायतका अधिकांश योजनाको काम सम्पन्न भएको जनाए ।

कार्यक्रममा शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक महेश कुश्मी, स्थानीय बसन्त चौधरी, किशनलाल चौधरी, कल्सी चौधरी, रामबहादुर चौधरी, गोपीलाल चौधरी, शिवलाल चौधरी, रामप्रकाश चौधरी लगायतकाले वडा कार्यालयबाट भए गरेका काम, कमीकमजोरी लगायतको बारेमा जिज्ञासा राखेका थिए ।

माग गरेको ठाउँमा ग्राभेल नपरेको, बनकन्द्री गाउँलाई विकासमा उपेक्षा गरेको, जनताले माग गरेका योजना नसमेटेको लगायतका गुनासा गर्दै विकासका लागि सबैलाई समेटेर अगाडि बढ्न आवश्यक रहेको उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीले सोधेको प्रश्नको जवाफ दिदैं वडा अध्यक्ष चौधरीले विकास सबैतिर विस्तारै हुँदै जाने बताए । उनले काम गर्ने क्रममा कमी कमजोरी हुने गरेको स्वीकार गर्दै विकासका लागि सबैले जनप्रतिनिधिलाई खबरदारी गर्न आवश्यक रहेको पनि बताए ।

‘वडाभित्र विकासका लागि तपाईहरुको रचनात्मक सहयोग, सुझाव आवश्यक छ’, उनले भने–‘विकासका लागि दलगत नभनेर सबै एकजुटका साथ अगाडि बढौं ।’ कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न गाउँका भलमन्सा, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।