सुत्केरी महिला महिनादिनसम्म गोठमै

बाजुरा, ३१ बैशाख । स्वामीकार्तिक खापर गाँउपालिका ५ की धर्मा बुढा सुत्केरी भएको १७ दिन भयो। उनी सुत्केरी भएदेखि गोरु बाँध्ने गोठमा बस्दै आएकी छन्। सुत्केरी हुँदा घरभित्र राख्नु हुँदैन भन्ने मान्यताले उनका परिवारले उनलाई एक महिनाका लागि गोठमा राखेका छन्।

अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्छ। गोठभित्र पस्दा बत्ति बालेर जानुपर्छ। गोठमा झ्याल छैन, सानो दुलो जस्तो ढोका छ। एकातिर गोरु छन्, भने अर्कोतिर कुखुराको खोर छ। त्यहीँ उनी र उनको नवजात शिशु बस्छन्।

त्यस्तै सोही गाँउकी सुरिन्द्र कठायतलाई सुत्केरी व्यथा लाग्ने बित्तिकै वाई स्वास्थ्य चौकी लगे। स्वास्थ्य चौकीमा छोरा जन्माइन्, आफन्तले घरमा ल्याएर, उनलाई सरासर गोठमा पुर्‍याए। गोठको एउटा कुनामा उनलाई एक महिनासम्मका लागि राखिएको छ। स्थानीय सामाजिक अगुवा जनदेवी बुढढले वाईमा ३ सय परिवार बसोवास गर्ने गरेको बताईन् । जुन ठाउँमा सबै महिला सुत्केरी हुँदा गोठमा बस्ने चलन रहेको बताए । अहिले गाँउमा ५ जना महिला १ महिना नपुगेका सुत्केरी छन्, सबै गोठमै छन् ।

हिमाली गाँउपालिका ६ की नन्दसरा सार्कीलाई सुत्केरी व्यथा लाग्ने बित्तिकै गोठमा लगे। एक छेउमा गोरु अर्को छेउमा उनलाई राखियो। नन्दसरालाई परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराइयो। बच्चाको नाल काट्ने काम पनि खिया लागेको हसियाले गरे। डोरीले नाला बाँधियो। उनी सुत्केरी भएको एक महिनासम्म त्यही गोठमा नै बसेको उनले बताइन्। उनले ५ जना बच्चा त्यही गोठमा जन्माइन्। गोरु गोठैमा उनका दुई बच्चाको मृत्यु भएको थियो।

बाजुराका पुर्वउत्तरी क्षेत्रका अधिकांश महिलाहरु सुत्केरी हुँदा गोठमा बस्ने गरेका छन्। यो क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाँउपालिका र बुढिनन्दा नगरपालिकामा सुत्केरी महिला गोठमा बस्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट जिल्लाका महिलाहरुले गोठमा बच्चा जन्माउँछन् र त्यही गोठमा एक महिनासम्म बस्ने गरेको रुगिन स्वास्थ्य चौकीका अहेब धनबहादुर फडेराले जानकारी दिए। अन्नपुर्णबाट