धनगढीमा अपाङ्ग परिचयपत्र वितरण कार्य सुरु

धनगढी, ३० बैशाख । धनगढी उप–महानगरपालिकाले अपाङ्ग परिचयपत्र वितरण कार्य शुरु गरेको छ ।

उप–महानगरपालिका अन्तरगत रहेको अपाङ्ग परिचयपत्र समन्वय समितिले आईतबार गरेको निर्णय अनुसार परिचयपत्र वितरणकार्य शुरु गरिएको अपाङ्ग परिचयपत्र समन्वय समितिका संयोजक तथा नगर उप–प्रमुख सुशिला मिश्र भट्टले जानकारी दिईन् ।

अपाङ्ग परिचयपत्र वितरणलाई खुला तथा पारदर्शि बनाउन निर्देशन दिएको बताए उनले भनिन्–पाउनुपर्ने ब्यक्तिले सजिलै पाउने अबस्था गरिएको छ । अपाङ्गहरुसंग घर, परिवार र समाजमा कस्तो ब्यावहार गर्ने भन्ने बारेमा अभिभावकलाई तालिमको ब्यबस्था गरिने पनि संयोजक भट्टले बताईन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले अपाङ्ग परिचयपत्र पाउनु कुनैपनि अपाङ्ग ब्यक्तिको नैसर्गिक अधिकार रहेकोले परिचयपत्र वितरण कार्य निरन्तर गरिने पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । सबै किसिमका बिशेषता भएका नागरिकको अभिभावकत्व बोक्नु राज्यको दायीत्व भएको पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । उनले परिचयपत्रको सदुपयोग गर्न आग्रह गरे ।

धनगढी उप–महानगरपालिकाले केही दिन पहिले मात्रै अपाङ्ग परिचयपत्र वितरण कार्यविधी २०७५ पास गरेको थियो । यस अघि महिला तथा बालबालिका कार्यालयबाट वितरण हुनै आएको भएपनि संघियता संगै अपाङ्ग परिचयपत्र वितरण तथा यस सम्वन्धी कानुन निर्माणको जिम्मा स्थानीय सरकारलाई दिईएको छ ।

सुदूरपश्चिमका अधिकांस स्थानीयतहले अपाङ्ग परिचयपत्र कार्यविधी निर्माण तथा अपाङ्ग परिचयपत्र समन्वय समिति गठन गर्न नसक्दा अपाङ्ग परिचयपत्र वितरण कार्य अनिश्चीत बनेको नेपाल अपाङ्ग संघका केन्द्रिय सदस्य धर्मराज ओझाले बताए ।