‘दाजुको दुर्व्यवहार सहन नसकी ११ वर्षमै बिहे’
धनगढी, २९ बैशाख । कैलालीका एक महिला नाम परिवर्तन (ए) ले सानै उमेरदेखि दाईको दुर्व्यवहार सहन नसक्दा ११ वर्षकै उमेर विबाह गरेकी बताईन् । ‘म सानै थिए, त्यही बेलादेखि नै दाई मेरो सम्बेदनशील अंगहरु सुम्सुमाउने, हुर्किदै गरेको बुबु छुने, गलत नजरले हेर्ने गर्थ्यो ।’
‘यस्तो व्यवहार सहन नसकि म गाउँकै एक भाउजुको घरमा कमलहरी बसे । दाईको व्यवहारलाई अस्वीकार गर्दा धेरै पिट्थ्यो । आमालाई यी सबै कुरा भन्दा उल्तै गाली गर्थिन्, आजभोली यी सबै कुरा सम्झिदा डाको छोडेर रुन मन लाग्छ । जुन दिन दाई राती सुतेको बेला मेरो कोठामा गएर मलाई यौन दुर्व्यवहार गर्यो त्यो दिनदेखि हाल सम्म एक शब्दापनि बोलेको छैन ।’
उनी दाईको व्यवहारले आफ्नो घर छोडेर १ वर्ष त्यही भाउजुको घरमा कमलहरी बसिन र सबै कुरा सेयर गरिन् । उनी भाउजुलाई केटा खोज्न आग्रह समेत गरिन्, अन्ततः ११ वर्षकै उमेरमा विबाह गरिन् ।
विबाह पश्चात उनी दुई वर्ष पुनः त्यही भाउजुसंग बसिन्, कहिले सासुको ओछ्यान पनि सुतिन् । विबाह भएको दुई वर्षपछि उनी महिनावारी भईन् । उनलाई भाउजुले श्रीमानसंग बस्न अनुरोध गरेपछि मात्रै बुहारी भएर श्रीमानको घरमा बसेको सुनाईन् । केही महिना राम्रो बित्यो ।
श्रीमानपनि राम्रो व्यवहार गर्थ्यो तर एकाक्सी श्रीमानलाई माओवादीको आरोपमा गिरफ्तार गर्यो र चार महिना थुनामा राख्यो । श्रीमान थुना मुक्तपश्चात सम्बन्ध विस्तारै विग्रन थाल्यो । जुनबेला उनको पेटमा चार महिनाको गर्भ थियो ।
श्रीमानले उनलाई अरुसंग आरोप लगाउन थाल्यो । जाड रक्सी खाएर उनलाई पिट्ने, गाली गलौज गर्ने, मानसिक दुव्यवहार गर्न थाल्यो । उनी यस्तै त हो भनि सहेर बसिन् । अन्तमा अर्को बच्चापनि जन्मियो ।
श्रीमानको कुटाईबाट धेरै पटक अस्पताल भर्ना भएको कहानी सुनाउछिन् उनी । श्रीमानको बेज्जत हुन्छ भनेर यतिका दिन सम्म अन्याय सहेर बसिन् । अहिले उनी खुलेर बाहिर आउन खोज्छिन् तर उनीसंग हातमा आर्थिक नभएको कारण हिम्मत जुटाउन समस्या भईरहेको बताईन् । उनी विभिन्न संघ संस्थासंग सीपमूलक तालिमकोलागि गुहार समेत गर्दैछिन् ।













