भित्तामा हरियो रंग लगाएर ग्रिन क्लीन अभियानको उद्घाटन

धनगढी, २५ बैशाख । धनगढी उप–महानगरपालिकाले बुधवार देखि नगरमा ग्रीन क्लीन अभियान सुरु गरेको छ । ग्रीन क्लीन धनगढी अभियान अन्तरगत धनगढीको क्याम्पस चौंकको निजीघरमा हरियो रंग लगाएर उद्घाटन गरेका हुन् ।

नगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच वडा नं ८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरेका थिए । अभियानको उद्घाटन संगै अव उप–महानगरपालिका क्षेत्रमा निर्माण हुने निजी तथा सरकारी घरमा हरियो रंग लगाउनुका साथै घरमा लगाईने जस्ता पनि हरियो रंगकै लगाउन अनुरोध गरे ।

उनले धनगढी उप–महानगरपालिकाको अफिसियल रंग अव हरियो भएकाले नयाँ निर्माण हुने नगरका आफ्ना संरचनामा पनि हरियो रंंग नै प्रयोग गर्ने बताए ।

यो कुनै कार्यक्रम होईन नगरले थालेको प्रवद्र्धनात्मक अभियान हो नगरप्रमुख वडले भने, ‘अभियान निरन्तर चलिरहने भएकाले सबैको सहयोग आवश्यक छ । एक घर दुई बिरुवा रोप्नुपर्ने कुरालाई पनि अभियानमा राखिएको छ ।’ नगरपालिकाले यसका लागि गत बर्ष मात्रै बिभिन्न वडाका बिभिन्न घरमा २० हजार लिची र आँपका बिरुवा वितरण गरेको थियो ।

उप–महानगरपालिकाले अनिवार्य दुईवटा फलफुलका बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने ब्यबस्था गरेको बताए । चुनाव जितेबाट नै नगरप्रमुख वडले भोट बराबर बोटको अभियान सुरु गरेका थिए । ग्रीन क्लीन धनगढीको अभियानलाई सहयोग पु¥याउन जनसंख्या बराबर बोटको अभियान पनि सुरु गरिने नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिजया सिमेन्ट प्रा.ली.को प्रायोजनमा वडा नं ८ को क्याम्पस चोक क्षेत्रमा निजीघरहरुमा हरियो रंग लगाउन सुरु गरिएको बताए । धनगढीलाई सफा राख्नका लागि धनगढी उप–महानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियान सुरु गरेको बताए ।