नगरप्रमुखद्धरा वडा कार्यालयको उद्घाटन
धनगढी, २४ बैशाख । धनगढी उप–महानगरपालिका वडा नं १९ को वडा कार्यालय भवन उद्घाटन भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन । उप–महानगरको वडा नं १३ र १६ को वडा कार्यालय यस अघि नै पनि उद्घाटन भैसकेको छ । नगरप्रमुख वडले आफ्नो कार्यकाल भित्र धनगढी उप–महानगरपालिकाका सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने योजनामा आफु रहेको बताए ।
सबै वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाएर लैजाने अभियान अन्तरगत हामीले तेश्रो भवनको उद्घाटन नै गरेका छौं नगरप्रमुख वडले भने, बाँकीको भवन निर्माणका लागि जग्गा खोज्ने काम भैरहेको छ ।
अहिले धनगढी उप–महानगरका ६ वटा आफ्नै वडा कार्यालय छन् । बाँकी भाडामा संचालन भैरहेका छन् । वडा कार्यालय नयाँ भवनमा सरेको छ नगरप्रमुख वडले भने, अव वडाबासीलाई चुस्त दुरुस्त र सजिलो गरी सेवा प्रदान गर्न सकिने छ । साघुरो ठाउँमा सेवा दिदा सेवाग्राहीलाई समेत अप्ठेरो भैरहेको थियो नगरप्रमुख वडले भने, अव सबैलाई सजिलो हुने छ ।
धनगढी उप–महानगरपालिका वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीले अन्यत्रको भन्दा धनगढी उप–महानगरपालिकाका वडा कार्यालयहरु निकै ब्यबस्थीत रहेको बताए । उनले भने,कार्य सम्पादन गर्ने ठाउँले पनि कर्मचारीको मनोविज्ञानमा राम्रो प्रभाव पर्दछ ।
धनगढी उप–महानगरपालिका वडा नं १९ का अध्यक्ष तिलुराम चौधरीले वडा कार्यालय निर्माण गर्नमा सहयोग गर्ने सबैप्रति अभार प्रकट गरे । वडा कार्यालय साधुरो ठाउँमा हुँदा समस्या थियो चौधरीले भने, अव वडा भौतिक पूर्वाधार सम्पन्न भएको छ । उनले वडा कार्यालय पूर्वाधार सम्पन्न भएपनि कर्मचारीको भने समायोजनाका कारण समस्या रहेको बताए ।













