मेयर कप फुटबल प्रतियोगितामा वडा नं. १३ र १५ विजयी

धनगढी, २४ बैशाख । धनगढी उप–महानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गतका खेलमा वडा नम्बर १३ र १५ विजयी भएका छन् ।

मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १३ विजयी भएको छ । वडा नम्बर १३ ले वडा नम्बर ११ लाई ४–० ले हराएको हो । आफ्नो वडालाई जिताउन वडा नम्बर १३ का लागि दिपक रानाले दुई सुनिल राना र विशाल चौधरीले एक एक गोल गरे ।

दोस्रो खेलमा वडा नम्बर १५ विजयी भएको छ । वडा नम्बर १ लाई वडा नम्बर १५ ले टाईब्रेकर मार्फत पराजित गर्दै जित हात पारेको हो । निर्धारित समयसम्म दुवै टीमले गोल रहित वरावरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा वडा नम्बर १५ ले वडा नम्बर १ लाई ३–२ ले किनारा लगाएको हो ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ ।

वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट समेत विनियोजन गरेको छ ।