सुदुरपश्चिम प्रदेशका मजदुर महिलाको सुत्केरी खर्च जिफन्टले बेहोर्ने

धनगढी, १८ बैशाख । सुदूरपश्चिम प्रदेशका मजदुर महिलाको सुत्केरी खर्च नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले बेहोर्ने भएको छ ।

मजदुर दिवसको अवसरमा आजदेखि लागु हुनेगरि युनियनमा आवद्ध मजदुर महिलाको सुत्केरी खर्च सुदूरपश्चि प्रदेश कमिटिले बेहोर्न लागेको हो ।

नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष देवबहादुर बमका अनुसार महासंघले सुत्केरी गराउँदा लाग्ने खर्च बेहोरेर थप २ हजार ५ सय रुपैयाँ पोषण भत्ता र एक हजार ८ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने निर्णय भएको बताए ।

बुधबारदेखि लागु हुनेगरि पहिलो चरणमा कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालसँगको सहकार्यमा यो काम थालिएको अध्यक्ष बमले बताए ।

उनका अनुसार महासंघमा सुदूपश्चिम प्रदेशका ८६ वटा गाउँ र नगरपालिकाका १७ हजार २ सय ७३ जना मजदुर महिला आवद्ध छन् । उनीहरुले वर्षको एक सय ३५ रुपैयाँ सदस्यता बापत महासंघलार्ई तिर्ने गरेका छन् । सोही सदस्यताको रकमबाट उनीहरुलाई सेवा दिन लागिएको अध्यक्ष बमले जानकारी दिए ।