ट्रकको ठक्कबाट किशोरीको मृत्यु, लम्की तनावग्रस्त

काठमाडौं । ट्रकको ठक्कबाट किशोरीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्त र स्थानीयबासीले ट्रक तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको हो । स्थितिलाई नियनत्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । साथै प्रर्दशन उग्र भएर भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले प्रर्दशन उग्र भएपछि भीड नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरिएको जानकारी दिए। प्रर्दशनका क्रममा स्थानीयले हानेको ढुङ्गा लागेर केही सुरक्षाकर्मी घाईते भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। उनका अनुसार स्थिती तनावग्रस्त भएपछि लम्कीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरी र प्रदर्शककारीबिच झडप हुँदा ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनका अनुसार १ जना सर्वसाधारण घाइते भएका छन् । स्थानीयबासीले ३ राउन्ड हवाई फायर भएको बताए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । आज बिहान ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय सुनिता रावलको मृत्यु भएको थियो ।

मृतकका आफन्त र स्थानीयहरूले दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन लम्कीमै रोकिएका छन्।