कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गरिने छः मन्त्री, शाह

धनगढी, १६ बैशाख । सुदूरपपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कुरीति मान्ने र मान्न लगाउनेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने बताए ।

धनगढीमा आयोजित ‘प्रदेश नीति र कुरीति’ विषयक पत्रकार महिलालाई अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कानून मन्त्री शाहले भने, ‘नेपालको संविधानदेखि धर्म शास्त्रसम्ममा पनि कहिँनेर विभेद छैन । तर हाम्रा व्यवहारले समाजलाई विभेदकारी बनाएकोले कुरीतिजन्य हिंसाको अन्त्य हुन नसकेको हो ।’

मन्त्री शाहले भन्नुभयो, ‘घर समाजमा कोही कसैले छोरी, बुहारी वा आफन्तलाई महिनावारी बार्न बाध्य पार्छ, जातीय छुवाछुत गर्छ, बोक्सी आरोप लगाउँछ भने त्यसलाई सरकारले दिने सामाजिक सेवा सुविधाबाट बञ्चित गरिनेछ ।’ मन्त्री शाहले धर्म र संस्कारका रुपमा मान्छेले मान्छेलाई जीवन यापनमा समस्या पारेको खण्डमा नछोडिने पनि उनले प्रतिवद्धता गरे ।

नेपालमा छाउपडी विरुद्धको कानून, जातिय भेदभाव विरुद्धको कानून निर्माण भईसक्दा समेत सुदूरपश्चिम छाउपडीले चिनिएको प्रदेश भनेर चिनिन थालिएको अवस्थामा प्रदेश सरकारले सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै कानून पालन गर्न र गराउन तर्फ लाग्नुपर्ने बताए ।
उनले आफूबाटै परिवर्तनकको सुरुआत गर्न सकेको खण्डमा मात्रै अरुलाई परिवर्तन गर्न सकिने भन्दै कुरीतिजन्य हिंसालाई सून्यमा झार्न सोचलाई सकारात्मक बनाएर अगाडी बढ्न आग्रह गरे ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव किशोर कुमार चौधरीले आजको एक्काइशौं शताब्दीमा पनि नेपालमा धेरै खालका कुसंस्कारहरु विद्यमान रहेको भन्दै त्यसका विरुद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु पर्ने बताए ।

इन्सेकका क्षेत्रिय संयोजक खडकराज जोशीले नीति निर्माणमा बसेका र जिम्मेवार व्यक्तिहरु पनि कुरीति प्रति अन्योल रहेको भन्दै अबको पत्रकारीता खोज र अनुसन्धानमूलक हुन आवश्यक रहेको बताए ।

वरिष्ठ पत्रकार दिलबहादुर छत्यालले नेपालको पत्रकारिता घटना विशेषमै सिमित हुने गरेको बताए । प्रदेश सरकारले परिवर्तनमूलक लेखाईको लागि प्रदेशको सञ्चार नीति प्रभावकारी बनाउन आग्रह गरे ।

कार्यक्रममा पत्रकार लोग्शरी कुँवरले कुरीतिजन्य हिंसा अन्त्यका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै घटना भइसकेपछि मात्रै समाचार लेख्नुभन्दा कुरीति प्रवद्र्धन नगर्ने खालका समाचार संकलनमा जोड दिए ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा धिमिरेले राजनीतिमा महिला सहभागिता बढे पनि अर्थपूर्ण सहभागिता नभएका कारण जसको सवाल हो उसैको नेतृत्व हुन नसकेको बताईन् ।

अधिकारकर्मी चित्रा पनेरुले पत्रकारले घटना विशेष समाचार भन्दा पनि परिवर्तनमा टेवा मिल्ने समाचार प्रकाशन प्रसारण गर्नुपर्ने बताईन् ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सुदूरपश्चिममा पत्रकारितामा पत्रकार महिलाहरुलाई टिकाइराख्न कठिन भइरहेको बताउनुभयो । उहाँले धर्म, संस्कार र परम्पराका नाममा विद्यमान कुरीतिहरुकै कारण पत्रकार महिलाहरुलाई पेसामा टिकिरहन समस्या भएको भन्दै उहाँले मन, वचन र कर्मले प्रतिवद्ध हुने हो भने पत्रकारितालाई मुल पेसा बनाउन समस्या नहुने बताए ।

कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रम सृजनशील पाइलाको संयोजन, आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा इन्सेक प्रदेश कार्यालय, दलित महिला अधिकार मञ्च, कमैया प्रथा उन्मुलन समाज, एडजस नेपाल र चेन्ज एक्सन नेपालले सहकार्य गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ४० जना पत्रकार महिलाहरुको उपस्थिती रहेको छ । कार्यक्रममा डा. जानकी तुलाधरले सहजीकरण गरेकी थिईन् ।