जोशीपुर गाउँपालिकामा सिकलसेल परीक्षण, दुई हजारमा ३१ जनाको पुष्टि

धनगढी, १५ बैशाख । कैलालीको जोशीपुर गाउँपालिकामा सिकलसेल एनिमिया पत्ता लगाउन रगत परीक्षण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग उक्त क्षेत्रका थारु समुदायको रगत परिक्षण गरेको थियो ।

रगत परिक्षणमा दुई हजार सात सय ५७ जना सहभागी भए । जस मध्ये ३१ जनालाई सिकलसेल रहेको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी जानकारी दिए । परिक्षण गरिएका २० महिला र ११ जना पुरुषमा सिकलसेल देखिएको हो ।

‘स्क्रिनिङ टेस्ट’ गर्दा पाँच सय ४३ जना शङ्कास्पद् देखिएका थिए । ‘इलेक्ट्रो फोरेसिस’ गर्दा ३१ जनामा सिकलसेल रहेको पुष्टि भएको स्वास्थ्य शाखा संयोजक बताए । ‘शङ्कास्पद्हरुको इलेक्ट्रो फोरेसिस धनगढीस्थित धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा भएको थियो’, उनले भने । सिकलसेल पुष्टि भएकाहरुको निःशुल्क उपचारका लागि प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

यसैगरी, शङ्कास्पद्मध्ये २० प्रतिशत व्यक्ति सिकलसेलको बाहक रहेको पुष्टि भएको छ । बाहक व्यक्ति सिकलसेलको विरामी होइनन् । तर, उनीहरुले जिनमार्फत आफ्ना सन्तानमा सिकलसेल रोग सार्न सक्छन् । बाहक पुरुष र बाहक महिलाबीच विवाह भएमा उनीहरुले जन्माउने सन्तान सिकलसेल एनिमियाको विरामी हुने चिकित्सकले बताउने गरेका छन् ।

जोशीपुरमा जम्मा जनसङ्ख्याको करिब ८० प्रतिशत थारु समुदायको बसोबास रहेको छ । जोशीपुरमा शङ्कास्पद् थोरै व्यक्तिकोमात्रै रगत जाँच भएको स्वास्थ्य शाखा संयोजक चौधरीले जनाए ।

‘अझै धेरै व्यक्तिको रगत परीक्षण गर्न बाँकी छ’, उनले भने–‘बढीजसो कठरिया थारु समुदायमा सिकलसेल एनिमिया देखा परेको छ ।’
जोशीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा सिकलसल एनिमिया पत्ता लगाउन रगत परीक्षणका लागि शुरुमा सात लाख रुपियाँ बजेट छुट्टयाएको थियो । तर, उक्त रकम अपुग भएपछि थप गरेर १८ लाख ३४ हजार रुपियाँ खर्च गरिएको जनाइएको छ । गाउँपालिकाले धनगढीबाट प्राविधिक टोली लगेर पाँचदिनसम्म रगत परीक्षण शिविर सञ्चालन गरेको थियो ।

अझै पनि धेरै व्यक्तिको रगत परीक्षण गर्न बाँकी रहेकाले आउँदो आर्थिक वर्षमा बढी बजेट विनियोजन गर्ने गाउँपालिकाको कार्यालयले जनाएको छ । सिकलसेल एनिमियाको विरामी पत्ता लगाउने प्रथम चरण रगत परीक्षण हो । रगत परीक्षणका लागि आगामी वर्ष अलि बढी बजेट विनियोजन गर्ने र धेरैभन्दा धेरै व्यक्तिको रगत जाँच गर्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए ।

पश्चिम तराईमा बसोबास गर्दै आएको थारु समुदायमा सिकलसेल एनिमियाको समस्या बढ्दो अवस्थामा देखिएको छ । कैलालीको सेती अञ्चल अस्पतालमामात्रै झन्डै छ सय जना सिकलसेल एनिमियाको विरामी दर्ता भएका छन् । यो रोगका विरामीलाई नेपाल सरकारले आजीवन एक लाख रुपियाँ बराबरको उपचार सहयोग गर्दै आएको छ ।