सडक छेउको संरचना आफै हटाउनेलाई सम्मान गर्ने

घनगढी, १३ बैशाख । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना ल्याएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्ने घरधनीलाई सम्मान गर्ने बताउदै सम्पूर्ण नगरबासीलाई आग्रह समेत गरेका छन् ।

आफ्नो संरचना आफै हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना रहेको छ, ‘यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडी भत्काईएको भागमा रंग रोगन समेत गरिनेछ ।’

बिहीबार देखि लागु हुने गरि आयोजनाले ४५ दिने सूचना जारी गरेको छ । आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र समेत कतिपय निजी संरचना रहेका छन् । आयोजना अन्तर्गतको बजेटले सडक निर्माण र कालो पत्रेका लागि डिजाइन तयार गरेर ठेक्का प्रक्रिया अगाडी बढाईएको छ ।

एसियाली विकास बैंकको आफ्नै प्रकृया रहेकोले नगरप्रमुख वडले आयोजना निर्माणमा सकारात्मक भूमिका निभाउन नगरबासीसंग अनुरोध गरे ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत घनगढीमा बिभिन्न आकारका २३ वटा सडक निर्माण हुदैछन् नगरप्रमुख वडले भने, पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका छन् । त्यसैगरी दोश्रो चरणमा बाँकी सडक निर्माण हुने छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतका सडक चरणवद्ध निर्माण हुने पनि नगरप्रमुख वडले बताए ।

पहिलो चरणमा धनगढी मेनरोड, गुल्मचौराहा रोड, धनगढी क्याम्पस गेट– जाखोरताल रोड, धनगढी–खुटीया–स्याउले रोड अर्थात डिभोटी पिपलचौतरा ( उप क्षेत्रीय सडक क्षेत्र) क्याम्पस गेट देखि चटकपुर सडक रहेका छन् । त्यसैगरी हसनपुर रोड र मालपोत रोड पहिलो चरणमा निर्माण हुने गरि टेन्डर आव्हान गरिएको आयोजनाका इञ्जिनीयर एवम् सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले जानकारी दिए ।

कुनैपनि सडकको मापदण्ड घटाईएको छैन धनगढी उपमहानगरपालिकाका डिभिजनल ईन्जीनियर द्धीजराज भट्टले भने, अघिकार क्षेत्रका सबै संरचना भत्काउदा आयोजना नै फिर्ता जाने अवस्था भएकाले अहिलेलाई मेनरोडमा सडकको संरचना २४ मिटर बनाईएको छ ।

ईन्जीनियर भट्टले क्षेत्रीय सहरी विकास आयोजनाको ईस्टीमेट नै २४ मिटरमा संरचना निर्माण गर्ने भएकाले त्यसलाई सडकको चौडाई घटाएको रुपमा नबुझ्न अनुरोध गर्दछौं । एसियालीविकास बैंकले निजी संरचनामा १० प्रतिशतमात्रै क्षति भएमा काम अगाडी नबढाउने भएकाले अधिकार क्षेत्रका संरचना ततकाल खाली नगर्ने भए पनि अधिकार क्षेत्रमा नयाँ संरचना निर्माण गर्न नदिने तथा हटाउन लगाउने बताए ।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागि मात्रै पुग्ने भएकाले चरणवद्ध रुपमा काम थालेको हो । अहिले सबै चिजको महंगी बढेकाले पहिलेको लागत, स्टिमेट अनुसार सडक बन्न नसक्ने आयोजनाले जनाएको छ ।