डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना
धनगढी, १० बैशाख। डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना भएको छ । महेन्द्रनगरबाट जन्ती बोकेको जीप अजयमेरुमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
म १ ज ६४४ नम्बरको जीप अजयमेरु गाउँपालिका–६ बलानामा बलेरो जिप मंगलबार बेलुकी ६ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनापरि घाइते हुनेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलाय डडेल्धुराले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीया मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेका छन् ।
त्यसैगरी अजयमेरु गाउँपालिका–६ का २२ वर्षीय अशोक पनेरु, सोही ठाउँका २३ वर्षीय कृष्णदत्त पनेरु, ४५ वर्षीय रामत्तद जोशी, वर्षीय २५ सिद्धराज पनेरु, २१ वर्षीय मुकेश पनेरु र ४६ वर्षीय लक्ष्मीदत्त पनेरु रहेका छन्।
मोडमा व्याक गर्ने बेला जिप सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ । दुघर्टनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। दुलहा दुहली अर्को गाडीमा सवार भएकोले सकुशल छन् ।













