श्रीलंकामा बम विस्फोट हुँदा २ सय ९० को मृत्यु
एजेन्सी, ९ बैशाख । श्रीलंकामा भएको बम विस्फोटमा परी दुई सय ९० जनाको मृत्यु भएको बताइएको छ । गिर्जाघर र होटलहरुमा भएको शृङ्खलाबद्ध ६वटा बम विस्फोट भएको बताइएको छ ।
मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए । देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको र त्यहाँ दुई प्रहरीको मृत्यु भएको बताइएको छ । आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो ।
श्रीलङ्का प्रहरीका प्रवक्ताले विस्फोटमा परी २०७ जनाको मृत्यु भएको पुष्टि भइसकेको बताएका थिए । उनले केही व्यक्ति गम्भीर घाइते भएकोले योसँगै बढ्न सक्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
समाचारसंस्था एएफपीका अनुसार घटनामा ३५ जना विदेशी नागरिकको मृत्यु भएको छ । बम विस्फोटमा परी पाँच सयभन्दा बढी घाइते भएको श्रीलंका प्रहरीले बताएको छ ।
विस्फोटनमा नेपाली परेको अहिलेसम्म पुष्टि भएको छैन । तर, घटनाको केही समयअघि मात्रै विस्फोट भएको साङ्ग्रिला होटलबाट नेपाली निस्किएको बताइएको छ ।
विस्फोटपछि श्रीलंका सरकारले कर्फयु लगाएको छ । आक्रमणकारीको खोजी भइरहेको बताइएकोछ । बीबीसीका अनुसार घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ ।
अधिकांश विस्फोटहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटा समूहले गराएको श्रीलंका सरकारले बताए । सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन् ।
घटनापछि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए । उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताए ।
त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाप्रति निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन् । आइतबार साँझबाट देशैभरी लागु हुने गरी लगाइएको कर्फ्यू सोमबार फिर्ता लिइएको छ ।
विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए । सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो ।













