‘रिफ्लेक्ट कक्षाले सम्बाद गर्न सक्ने सहासी बनायो’

धनगढी, ५ बैशाख । कैलारी गाउँपालिका वडा नं. ७ का मिलनपुर/विपतपुर मुक्त कमैया शिविरका महिलाहरुलाई रिफ्लेक्ट कक्षाले निकै सहासी बनाएको छ । दुई महिना अगाडी आफ्नो परिचय समेत दिन नसक्नेहरुलाई रिफ्लेक्ट कक्षामा सहभागी भएदेखि आफ्नो कुरा खुलेर राख्न सक्ने भएका छन् ।

मिलनपुर मुक्त कमैया शिविरका दिप्तु चौधरी दुई/चार जनाको अगाडी बोल्दा डराउथिन् तर आजभोली उनी जनप्रतिनिधिहरुसंग सम्बाद गर्न सक्ने भएकी छिन् ।

कैलारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष कमल प्रसाद चौधरीले उठाएको स्वास्थ्यको विषयमा उनी सम्बाद गर्दै भनिन् ‘स्वास्थ्य चौकीमा कहिलै औषधी हुदैन् । पर्चा दिएर नीजिमा औषधी किन्न पठाउछन् । डाक्टर पनि हुदैनन्, डाक्टर भएको खण्डमा हामीसंग गर्ने व्यवहार राम्रो हुदैन ।’

त्यसै गरी सोही वडाका विपतपुर मुक्त कमैया शिविरका निर्मला चौधरी भन्छिन् ‘कैलारी गाउँपालिकाको प्रया वडाहरुमा किटनाशक झुल वितरण हुन्छ, तर हाम्रो बस्तीमा दिदैन् ।’ विपतपुर बस्तीमा असार÷साउन महिनामा प्रत्येक घरमा टाईफाइडको विरामी हुन्छन् । तर गाउँपालिकाले हामीलाई स्वास्थ्य उपचारमा विभेद गरेको महशुस हुन्छ । बस्तीमा हाल सम्म न स्वास्थ्य स्वयम सेविका छन्, न त क्लिनिक नै छ ।

विरामी पर्दा बजार नै धाउनुपर्छ, उनले भनिन् । नेपाल सरकारले औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरि औलो निमूर्ल पर्न उद्देश्यले क्षेत्र पहिचान गरि झुल वितरण गरिरहेको छ । तर शिविरका अधिकांसले भारतमा उपचार गराउदै आएकोले स्वास्थ्य संस्थाको रेकर्डमा सो बस्तीबाट औलो लागेको एक जनापनि नरहेको गापाको तथ्यांक उल्लेख छ ।

मिलनपुर मुक्त कमैया शिविरका रमिता चौधरी भन्छिन् रिफ्लेक्ट कक्षाको हरेक दिन शुरुवाटमा हामी सहभागीबाटै कोही अध्यक्षता गर्ने, कोही कार्यक्रम सञ्चालन गर्ने त कोही दिनभरिको कक्षालाई मूल्याकंन गर्ने जिम्बेवारी बाँडफाँड गरेको बताईन् । मिलनपुर विपतपुर मुक्त कमैया शिविरका महिलाहरु दुई महिनाको अवधिमा खानेपानी, विद्युत, ग्राभिल, सिचाई, स्वास्थ्य जस्ता समस्या पहिचान गरि स्थानीय जनप्रतिनिधिहरुसंग सम्बाद गरेका छन् ।

त्यसैगरि धनगढी उप महानगरपालिका १७ धुरझना मुक्त कमैया शिविरका निर्मला चौधरी परियारलाई पनि रिफ्लेक्ट कक्षाले मनको कुरा खुलेर भन्न सक्ने सहास दिएको बताईन् । उनी विगत लामो समयदेखि घरेलु हिंसा खेप्दै आएको बताउदै ‘यतिका दिन सम्म सहेर बसे, अब न्यायको खाजीमा आफ्नो अवाज बुलन्द गर्छु ।’

त्यसैगरि सोही ठाउँका सुनिता चौधरीपनि एक दशक सम्म घरेलु हिंसा सहेर बसेको बताउदै अब आईलाग्नेसंग प्रतिकार गर्न सक्ने सहास भएको बताउँछिन् । उर्मामा घरेलु हिंसा, बालविबाह, निशुल्क शिक्षा, काठ माफत पाउनुपर्ने रकम नपाएको समस्यालाई प्राथमिकिकरण गरेका छन् ।

कमैया प्रथा उन्मूलन समाजले सञ्चालन गरेको रिफ्लेक्ट कक्षा महिलाहरुलाई मनको कुरा सातासात गरि मन विसाउने बिसौनी जस्तै भएको छ । उनीहरुलाई समुदायको समस्या पहिचानसंगै व्यक्तिगत हिंसा नसहन सचेतिकरण भईरहेको सहजकता मिना चौधरी बताउछिन् । रिफ्लेक्ट कक्षाले समुदायमा रहेका समस्या पहिचान गरि समस्या समाधानकोलागि स्थानीय तहसंग समन्वय र सहकार्य गरि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने बातावरण सृर्जना गर्छ ।