‘विद्यालय प्रति अभिभावकको अपनत्व छैन’

धनगढी, ५ बैशाख । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायीक विद्यालय प्रति अभिभावकको अपनत्व नरहेको बताएका छन् ।

बिहीबार धनगढी उप–महानगरपालिका ४ स्थित तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै वडले यस्तो बताएका हुन् । उनले विद्यालयको पढाई गुणस्तरण सुधार गर्न स्थानीय अभिभावकहरुको अपनत्वको भावना हुनुपर्नेमा जोड दिए ।

‘छोराछोरीलाई झोला बोकाएर विद्यालय पठाउनु मात्रै अभिभावको दायीत्व होईन, शिक्षकले पढायो पढाएन छोराछोरी पढेकी पढेनन् भनेर पनि बुझ्नुपर्छ ।’

धनगढी उप–महानगरपालिकाले पढाईको गुणस्तर सुधार गर्न दण्ड र पुरस्कारको नीति ल्याएको छ, राम्रो गर्ने विद्यालय र शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई असहयोग गर्ने नगरप्रमुख वडले भने ।

विद्यालय बाहिर रहेका विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना अभियानमा सबै अभिभावक आफै सक्रिय हुन अनुरोध गरे ।