भासु भीरमा फेला परेको शव दिनेश एफएमको प्राविधिक रहेको पुष्टि

धनगढी, २ बैशाख । कैलालीको भासु भीरमा गत बीहिबार सडेको अवस्थामा भेटिएको शव दिनेश एफएमको प्राविधिकको रहेको पुष्टि भएको छ । उक्त शव बैतडीको डिलासैनी गाउँपालिका वडा नम्वर ७ धामी गाउँ घर भई झण्डै एक बर्ष सम्म दिनेश एफएममा काम गरेका २३ वर्षीय मुकेश धामीको रहेको सनाखत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज शवको मृतकका बुवा मोहनसिंह धामीले सनाखत गरेका हुन्। धामीसंग भेटिएको मोवाईलमा रहेको मेमोरी कार्डमा रहेका फोटोको आधारमा उनको पहिचान भएको प्रहरीले जनाएको छ। यस्तै उनले लगाएका लुगाहरुको आधारमा पनि पहिचान खुलेको हो।

धामी दिनेश एफएममा प्राविधिक पदमा काम गर्दै आएका थिए। झण्डै एक वर्ष सम्म दिनेश एफएममा कार्यरत रहेका धामी गत साउनमा १४ गतेदेखि वेपत्ता भएका थिए।

सोमवार एफएममा ड्युटी गरेर धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत डेरामा गएका धामी सोही दिन देखि वेपत्ता भएका थिए। मंगलवार उनको साप्ताहिक विदा थियो। त्यसपछि पनि कार्यालयमा उपस्थीत नभएपछि एफएम व्यवस्थापनले उनको खोजी सुरु गरेको थियो। वेपत्ता भएपछि दिनेश एफएमले उनको खोजीका लागि साउनमै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको थियो।