बेपत्ता सुविलको शव फेला, खोजी कार्यमा प्रहरीको लापरबाही भन्दै स्थानीयद्धारा आन्दोलन

धनगढी,  २  बैशाख । चार दिनदेखि बेपत्ता भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का १९ वर्षिय सुविल बडायकको शव फेला परेको छ । उनको शब कृष्णपुर नगरपालिका ७ लम्वा चद्दरको न्युरा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।

खाल्डो खनेर आधा गाडियको अवस्थामा शब भेटाएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । बडायकको टाउको र शरिर अलग गरिएको छ । शब हेर्दा हत्या गरेको भएको देखिन्छ । घटनाको आशंकामा एक स्थानीय युवती सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिईएको बताइएको छ ।

गत चैत २८ गते स्थानीयको विवाहमा रैकवार विचुवाको कलुवापुर पुगेका सुलिव सोही दिन साँझदेखि सम्पर्क विहिन थिए । बडायकको टि–सर्ट रगतले लतपतिएको अवस्थामा खेतमा फेला पारेको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उता बेपत्ता किशोरको खोजीमा प्रहरीले चासो नदिएको भन्दै कृष्णपुर नगरपालिका–८ का स्थानीय आन्दोलनमा उत्रिएका छन् । स्थानीयले सडकमा चक्काजाम गर्नुकासाथै इलाका प्रहरी चौकी रैकरवारविचुवा घेराउ गरेका छन् ।

घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । आक्रोशित स्थानीयले ईलाका प्रहरी चौकी घेराउ गर्नका साथै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।