विप्लवका कार्यकर्तालाई संरक्षण गरेको भन्दै दूधे बालकसहित एक महिला पक्राउ
धनगढी, २८ चैत । प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पूर्व कार्यकर्तालाई संरक्षण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले चार महिने शिशु सहित एक महिलालाई हिरासतमा लिएको छ ।
रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट दूधे बालक सहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको छ । रुपलाल केही दिन अगाडीेदेखि नै हिरासतमा रहेका छन् । हिरासतमा रहेका रुपलाल नाताले सीताको देवर पर्ने आफान्तले जनाएको छ ।
सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको हो ।
५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका घरमा ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले बताए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।













