१८ पकेट क्षेत्रबाट ६०० मेट्रिकटन थारु आलु उत्पादन

धनगढी, २० चैत ।सुदूरपश्चिम प्रदेशमा १८ वटा पकेट क्षेत्रबाट ६०० मेट्रिकटन थारु आलु उत्पादन भएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक २०७५’ टेबुलमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जानकारी दिएका थिए ।

मङ्गलबार बसेको प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उक्त विधेयक टेबुल गरेका हुन । बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिएका थिइन् ।
उनले बीउ बिजन र मलखाद सङ्घीय सरकारले उपलब्ध गराउँदै आएकाले किसानलाई सहज रुपमा ती कृषि सामग्री उपलब्ध गराउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताइन् ।

मन्त्री चौधरीले पहिलो पटक प्रदेश सरकारले उखुको मूल्य निर्धारण गरेको भन्दै कैलाली कञ्चनपुुरमा चार सय हेक्टरमा उखु खेती विस्तारका लागि मन्त्रालयले ५० प्रतिशत अनुदानमा उखु बीउ वितरण गरेको जनाइन् । उनले चैते धान र तीन सय हेक्टरमा मसिनो बासनादार धान विस्तारका लागि पनि अनुदानमा बीउ उपलब्ध गराइएको जानकारी दिइन् ।

भूमि सम्बन्धी कानून सङ्घीय सरकारले नबनाएकाले प्रदेश सरकारले बनाउन नसकेको मन्त्री चौधरीको भनाइ थियो । ‘तर, कार्यविधिमार्फत काम भने भइरहेको छ’, उनले थपिन्–‘यद्यपि, भूमि सम्बन्धी कानून निर्माणले गति लिएको छैन ।’ उनले पहाडको १३८ हेक्टर जमिनमा ओखर खेती विस्तारका लागि ओखरको विरुवा वितरण गरिएको बताइन् ।