डाक्टर श्रीमानबाट आइरन डामिएकी सुनिताको मृत्यु
काठमाडौं, १५ चैत। चिकित्सक श्रीमानसहित परिवारको कुटपिटबाट गम्भीर घाइते महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
नारायणी अञ्चल अस्पताल बिरगञ्जमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचिदानन्द यादवको कुटपिटबाट गम्भीर घाइते यादवको अहिले बेलुकी ४ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । सुनिता सचितानन्दकी जेठी श्रीमती हुन् ।
चैत्र ६ गते होलीको दिन श्रीमान लगायत परिवारबाट निर्घात कुटिएकी सुनितालाई नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि अधिकारकर्मी साबित्री सुवेदी लगायतको सहयोगमा माइती पक्षले काठमाडौं ल्याएका थिए ।
श्रीमानले आफूलाई आईरन तताएर डाम्नुका साथै शरीरका संवेदनशील अंगहरुमा कुटपिट गरेको सुनिताले बताएकी थिइन् ।
घटना ६ गतेको भए पनि ११ गते मात्रै सार्वजनिक भएको थियो । भने १२ गते श्रीमान सचितानन्द, ससुरा नागेन्द्र यादव, सासू आसादेवी यादव र देवर असितानन्द यादव विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत माइतीले मुद्दा दर्ता गराएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका सचितानन्दले बिरामीको बहाना गरेपछि प्रहरी निगरानीमै उनको उपचार भइरहेको पनि प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।













