नेता गिरफ्तार गर्न अछाममा ७ राउण्ड गोली, नेकपाका चारजना गिरफ्तार

धनगढी, १२ चैत । प्रहरीले अछाममा गोली चलाएर नेपाल कम्युनिस्ट पार्टीका चार जना नेताहरुलाई गिरफ्तार गरेको छ । मंगलबार अछामको रामरोसन गाउँपालिकाको बाटुलासैनमा प्रहरीले गोली चलाएको हो ।

नेकपाका नेताहरु बसेको सूचना पाएको प्रहरी बाटुलासैन पुगेको थियो । करिब दिउँसो १ बजेतिर नेकपाका नेता(कार्यकर्तामाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

प्रहरीले ७ राउण्ड हवाइ फायर गरि नेकपाका चार नेतालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश राउत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अनेमसंघ क्रान्तिकारीकी भुमीसरा धामी र युवा सङ्गठनकै राजेन्द्र धामी रहेका छन् ।

नेकपा अछामले घटनाप्रति घोर आपत्ति जनाएको छ । आफ्ना निशस्त कार्यकर्तामाथि गोली चलाएको भन्दै नेकपाले अछामले विरोध जनाएको छ ।