नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ८ जना गिरफ्तार

काठमाडौं, ९ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ८ जना नेता गिरफ्तार परेका छन् । केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका सुदर्शनलाई प्रहरीले शुक्रबार राति काभ्रेबाट गिरफ्तार गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढाकालले संचारकर्मीलाई दिएको जानकारीअनुसार सुदर्शनसहित ८ जना गिरफ्तार परेको बताए । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोलीले गाउँ घेरा हालेर गिरफ्तार गरेको बताइएको छ ।

प्रहरीले सुदर्शनसँगै ब्यूरो सदस्य शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पनि गिरफ्तार गरेको छ ।

घटनाबारे नेकपाले औपचारिक पुष्टी गरेको छैन तर एक नेताले सुदर्शनसहितका नेताहरु गिरफ्तार परेको स्वीकार गरे ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । केही दिनअघि प्रहरीले काभ्रेबाटै फाइरिङ गर्दै चारजनालाई गिरफ्तार गरेको थियो ।