आज फागु पुर्णिमा थारु समुदायद्धारा चिर दहन हुने

धनगढी, ६ चैत । आज फागु पुर्णिमा (पहाडको होली) तराइमापनि हर्षोलासका साथ मनाईरहेका छन् । आज थारु बस्तीमा गाउँभरिका मान्छे एक ठाउँमा भेला भई होलिकाको चिर दहन गर्ने गर्दछन् ।

फागुपुर्णिमाको दिन थारु समुदायले दिउसो गाउँमा जिता (मासुकोलागि जनावर) मार्ने र साथीसंगी मिलेर रमाईलो गर्ने गरेको थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले बताए ।

उनले भने आजको दिन थारु समुदायमा दिनभरि रमाईलो गर्ने र साँझा बसै जना एक ठाउँमा भेला भएर होलिकाको चिर दहन गर्नेगरेको ईतिहास बताए ।

चिर दहनमा गाउँमा मौलिदै गईरहेको खराब कुसंस्कार, खराब बानी सबै होलिको चिर दहनसंगै नष्ट होस् भन्ने भनाई रहेकोपनि उनले बताए ।
भोली विहान घरको देवतालाई नुहाई धुवाई गरि उक्त चिर दहनलाई पनि निभाउने चलन कायमै रहेको छ । चिर दहनलाई निभाएपछि थारु समुदायको होली शुरु हुन्छ ।

होली वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइरहेका छन् ।

केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

होलीमा जबरजस्ती गरे कडा कानूनी कारवाही गर्ने कैलाली प्रहरीले एक हप्ता अगाडीदेखि नै सूचना जारी गरेको छ । होलीमा उच्च सुरक्षा सतर्कता अपनाएको बताउदै प्रहरीले होलीमा महिलामाथि जबरजस्ती गरे फौजदारी मुद्धा चलाउनेसम्मको सूचना जारी गरेको हो ।

पर्वको अवसरमा लागू पदार्थको सेवन तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ईच्छा विपरित रङ दल्ने, पानीका लोला हान्ने, पानी फाल्ने, महिलालाई कुनै पनि किसिमको दुर्व्यवहार गर्ने जस्ता अनैतिक कार्यलाई पूर्णरुपमा निषेध गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक आभुषण तिम्सिनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उल्लेखित अनैतिक कार्य गरेको पाइएमा प्रचलित मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ बमोजिम कारवाही भई जाने व्यहोरा सुचित गरिन्छ ।’

त्यस्तै, प्रहरीले त्यस्ता अवाञ्छित गतिविधि भए नजिकको प्रहरी कार्यालय तथा १००,१०३,१०४, ९८५८४९०१२१, ०९१५२११५०, फेसबुक पेजमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेको छ ।