थरुहट संघर्ष समिति चैत १६ राष्ट्रिय भेला गर्दै
धनगढी, ३ चैत । थरुहट प्रदेशको माग गर्दै आएको थरुहट थारुवान संघर्ष समितिले थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय छलफल गर्ने तयारीमा जुटेको छ ।
संघर्ष समिति र थारु कल्याणकारिणी सभाले चैत १६ गते बर्दियामा भेलाको तयारी थालेको हो ।
२०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेको सो आन्दोलनबारे रणनैतिक योजना तय गर्नेबारे छलफल हुने थाकस कैलालीका कार्यवाहक सभापति माधव चौधरीले जानकारी दिए ।
फागुन २२ गते जिल्ला अदालत कैलालीको फैससा आएपछि जेल सजाय भुक्तान गरेका थारु नेता, अगुवासहितको उपस्थितिमा राष्ट्रिय भेला हुने उनले बताए ।
उक्त भेला तीनवटा उद्देश्यमा केन्द्रित हुने जनाइएको छ । टीकापुर मुद्दा र अदालतको फैसला, थरुहट आन्दोलनको अवस्था, मोर्चाबन्दी, नेतृत्व एवं भावी संघर्षका कार्यक्रमहरू र कारागार अनुभव सेयरिङसहित निष्कर्षमा पुगिने थरुहट नेता लक्ष्मण थारुले बताए ।
उनले केही दिनभित्रै टीकापुर घटनासम्बन्धी मुद्दा पुनरावेदन गर्ने बताए । जिल्ला अदालत कैलालीको फैसलाको सम्मान गर्दै न्याय प्राप्तिको लागि उच्च अदालत जाने बताए ।
‘हामी जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै न्याय नपाएसम्म अगाडि बढिरहने छौं । हामी निर्दोष छौ । निर्दोष सावित नभएसम्म कानूनी लडाई जारी राख्नेछौं’, नेता थारुले भने ।
राजनीतिक अधिकार प्राप्तिको माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी तथा सरकार र संघर्ष समितिबीच २०६५ सालमा भएको समझौता कार्यान्वयनका लागि दबाब सिर्जना गरी राख्ने उनको भनाइ थियो ।













