‘न्यायालयले हाम्रो राजनीतिक भविष्यलाई द्वन्द्वमा धकेल्ने छैन’
धनगढी, २६ फागुन । टीकापुर हिंसात्मक घटनामा दोषी ठहर भइ ४२ महिना जेल सजाय काटेर थुनामुक्त भएका थरुहट पक्षधर नेता लक्ष्मण थारुले न्यायलयले आफूहरुलाई ठगेको बताए । सेन्ट्रल जेल काठमाण्डौंबाट थुनामुक्त भइ आइतबार धनगढी पुगेका नोता थारुले कैलाली जिल्ला अदालतको फैसलाले आफूलाई स्तब्ध बनाएको बताएउदै ‘अदालतको फैसलालाई सम्मान गर्दै जन्मकैद सजाय सुनाइएका सांसद् रेशम चौधरीसहित ११ जनालाई छुटाउनका लागि समयमै पुनरावेदन गर्नुपर्छ ।’
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलाले शक्तिको भरमा आफूहरुलाई जेल कोचिएको बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य द्धन्द्धमा ढकेल्न सक्दैन भन्ने विश्वास छ’, धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘न्यायमूर्तिले अवश्य पनि बाँकी साथीहरुलाई पनि न्याय गर्नेछन् ।’

उनले भने यो देशका २५ लाख थारु आतंककारी होईन्, अरुको घर जलाउने र पसल लुट्ने डाँका होईनन् तर पनि छानी छानी जेल कोचियो ‘सिंहदरवारलाई उखेलेर मसानघाटसम्म पु¥याउने शक्ति थारु समुदायसंग छ, विगतमा भएको सम्झौताको लागि गम्भीर बन्न सरकारलाई आग्रह छ ।’ उनले सात प्रदेश कुनै पनि हालतमा नस्वीकार्ने उल्लेख गर्दै फेरी पनि शान्तिपूर्ण रुपमा विशाल आन्दोलन शुरु गर्ने घोषणा समेत गरेको बताए ।
‘टीकापुर घटनामा अदालतको फैसलाले थारुहरुलाई न्याय दिएन । न्यायको लागि सरकार आन्दोलन चाहन्छ भने हामी आन्दोलन गर्न तयार छौं’ भन्दै शुभ चिन्तकहरुबाट आईरहेको अवाज जस्ताको त्यस्तै सुनाए ।
संघर्ष समितिका कैलाली संयोजक कृष्णकुमार चौधरीले भने यो बेला संयमित भएर अगाडि बढ्नुपर्ने बताए । उनले अदालतको फैसला दुर्भाग्यपूर्ण हुँदाहुँदै चुप लागेर बस्नुपरेको बताए । उनले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर जन्मकैद सुनाइएका ११ जनालाई रिहाई गर्न सरकारसँग मागसमेत गरे ।
थाकस कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरीले पनि हतारमा आन्दोलन गर्नुभन्दा पनि रणनीतिक हिसाबले अगाडि बढ्नुपर्ने बताए । अदालतको फैसला एकतर्फी आएको भन्दै उनले त्यसबाट थारुहरु विचलित नहुन आग्रह गरे ।













