कमैया बस्तीमा खानेपानीको समस्या, समुदायद्धारा सरकारसंग फिल्टरको माग
धनगढी, २६ फागुन । जोशी गाउँपालिका वडा नं. ३ रामनगर कमैया बस्तीमा शुद्ध खानेपानीको समस्या रहेको बताएका छन् । सो बस्तीमा जमिनमूनिको पानीको मूल सुकेको र पानी आएपनि आरसिनिक एकदमै बढी मात्रमा देखिएकोले रामनगर बस्तीका समुदाय स्थानीय सरकारसंग फिल्टरको माग गरेका छन् ।
क्रिचियन एड नेपालको आर्थिक सहयोग र कमैया प्रथा उन्मूलन समाज कैलालीद्धारा सञ्चालित मुक्त कमैयाहरुको हक अधिकार र मर्यादा सवलीकरण परियोजनाबारे जानकारी सम्बन्धी सारोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा मुक्त कमैया बस्तीका समुदायले शुद्ध खानेपानीको माग गरेका हुन् ।
सुख्खा डाँडामा मुक्त कमैया बस्तीको बसोबास भएकोले सो ठाँउमा पानीको समस्या देखिएको गाउँपालिका आध्यक्ष रामकृष्णा चौधरीले बताए । उनले सो बस्तीमा मात्रै नभएर अरु वडामापनि आरसिनिक देखिएकोले गाउँपालिका खानेपानी टंड्ढी निर्माणकोलागि भौतिक निर्माण तथा पुर्वधार मन्त्रालय मार्फत पहल चालेको जानकारी दिए । यो ठाउँमा १७० फिट गहिरो नल्ला गाडेपनि पानी नुनिलो आउनु, आरसिनिकको मात्र एकदमै बढि देखिनु यहाँको मूल समस्या रहेको बताए ।

अध्यक्ष चौधरीले समुदायमा विवाद नभए एउटा बस्तीमा ८/१० वटा फिल्टर वितरण गरि खानेपानीलाई शुद्ध बनाउन गाउँपालिका सहयोग गर्न सक्ने बताए । ‘तपाईहरु आफ्नो बस्तीमा नजिक–नजिक घर भएकाहरु ५/६ जनाको समुह बनाई गाउँपालिकामा पेश गर्नुस् तर पछि झगडा गर्न पाईदै, तपाईहरु मिलेर आएपछि गापाले तत्काल फिल्टर उपलब्ध गराउन सक्छ,’ उनले भने ।
अध्यक्ष चौधरीले समुदायको मागलाई मध्यनजर गर्दै गाउँपालिकाको योजनामा यहि वर्ष आर्थिक मसान्त भित्रै रामनगर बस्ती लगायत अरु बस्तीहरुमा दीप बोरिंगपनि उपलब्ध गराउने योजना रहेको बताए ।
त्यसै गरि कैलारी गाउँपालिकाका वडा नं. ७ मिलनपुर/विपतपुर मुक्त कमैया शिविरमा मूख्य समस्या शुद्ध खानेपानी र सिचाई समस्या रहेको बस्तीका अगुवाहरुको भनाई छ । सो बस्तीको समस्याको खानी रहेको बताउदै वडा नं. ७ का अध्यक्ष कमल प्रसाद चौधरीले कमैया बस्ती बस्ती बसन्ता कोरीडोर क्षेत्र भित्र पर्ने भएकोले सानो कमजोरीले सिंगो समुदायलाई नै असर परिरहेकोले बनविभागले छुट्त्याइएको क्षेत्र भन्दा बाहिर गएर अतिक्रमण नगरिदिन अनुरोध समेत गरे । तर यहि बस्तीमै सम्भावनाको खोजी गर्दै वडाको तर्फबाट बस्तीको लागि विभिन्न योजना बनाई गापामा पेश गरेको उनले बताए ।

कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विपतपुर/मिलनपुर मुक्त कमैया बस्तीलाई नमुना बस्ती बनाउन गाउँपालिकाले कार्ययोजना तयार गर्ने प्रतिबद्धता जनाए । उनले योजना माग नगरुन्जेल गाउँपालिकालाई काम गर्न गाह्रो भएकोले सोही बस्तीका समुदायलाई समस्या पहिचान गरि गाउँपालिकामा योजना माग गर्न निर्देशन समेत दिए ।
यो बस्तीमा शुद्ध खानेपानी, सिचाईको एकदमै समस्या रहेको स्वीकार गर्दै गाउँपालिकाले बैशाख महिना भित्रै उच्च नल्का र बोरिंग उपलब्ध गराउने बताए । साथै यो बस्तीका समुदायलाई व्यवसायीक तरिकाले काम गर्नकोलागि गाउँपालिकाले कार्ययोजना बनाउने बताए । यो बस्तीमा जति गहिरो नल्का गाडेपनि मानी नआउनु यहाँको समस्या रहेको बताउदै यो समस्या हल गर्न कार्ययोजना बनिरहेको प्रतिबद्धता जाहेर गरे ।
त्यसै गरि धनगढी उप–महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष माधब चौधरीले धुरझरना मुक्त कमैया बस्तीको लागि उच्च नल्का र सिचाईकोलागि बोरिंग दिने योजनामा बजेट विनियोजन गरिसकेको बताए । उनले विकाश निर्माणसंगै मानविय विकासमा काम गर्न जरुरी रहेकोले शिविरका समुदायलाई विभिन्न खाले सीपमूल तालिम, अन्तरक्रिया, गोष्ठी कार्यक्रमलाई योजनामा पारेको बताए ।
त्यसैगरि वडा नं. १७ का वडा सदस्य सीमा चौधरीले ‘कमैया प्रथा उन्मूलन समाज हाम्रो घर हो । यो संस्थाले कमैया मुक्ति भएदेखि हाल सम्म सहयोग गर्दै आईरहेको छ र छुट मुक्त कमैयाहरुको लागि पनि जनप्रतिनिधिहसंग सहकार्य/समन्वय गरेर काम गरिरहेको छ ।’ संस्थालाई धन्यवाद ज्ञपन गर्दै नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्थाका अध्यक्ष बसन्ती चौधरीले कमैया प्रथा उन्मूलन समाज कमैयाहरुको आन्दोलन कै क्रममा जन्मेको संस्था भएकोले स्थापनाकालदेखि हाल सम्म मुक्त कमैया तथा पछाडी पारिएको वर्ग समुदायहरुको आर्थिक, सामाजिक, सांस्कृति, राजनीतिकसंगै नागरिक अधिकारका लागि अवाज उठाउदै आईरहेको बताईन् ।

मुक्त कमैया शिविरमा स्वाच्छ खानेपानी, बेरोजगारी, गुणस्तर शिक्षाको अभाव, बिचमै विद्यालय छोडेर कम उमेरमा विवाह गर्ने, विजुली बस्तीके समस्या, छुट कमैयाहरुको पहिचान गर्न राज्यबाट बेवास्ता गरेको यावत समस्याका कारण सरकारले अहिले ल्याएको पुनस्थापनाको प्याकेज न्यायसंगत नदेखिएको स्थानीय सरकारले कानून निमार्णदेखि बजेट विनियोजनमा कमैयाहरुको सवाललाई मध्यनजर गर्दै नीति बनाउन आग्रह समेत गर्नु भयो ।
कमैया प्रथा उन्मूलन समाजले कैलारी गाउँपालिका वडा नं. ७ को मिलनपुर/विपतपुर मुक्त कमैया शिविर, धनगढी उपमहानगरपालिका वडा नं. १७ धुरझरना मुक्त कमैया शिविर र जोशीपुर गाउँपालिका वडा नं. ३ रामनगरमा मुक्त कमैयाहरुको हक अधिकार र मर्यादा सवलीकरण परियोजनाबारे जानकारी सम्बन्धी सारोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा कमैयाहरुले सरकारबाट पाउँने काठ, कमैयाका बालबालिकाहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी लगायत महिलाहिंसा जस्ता समस्या व्याप्तरुपमा देखिएको सहभागिहरुको भनाई थियो ।













