टीकापुर घटना मुद्धाको फैसला : रेशम सहित ११ जनालाई जन्मकैद, लक्ष्मण र लाहुराम सहित १२ जनालाई थुना मुक्त

धनगढी, २२ फागुन । जिल्ला अदालत कैलालीले टीकापुरमा भएको हिंसात्मक घटनाका दोषिलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

टीकापुर घटनाको आरोपमा ४२ पछि अदालतले यस्तो फैसाला गरेको हो । रेशम चौधरीका अलावा हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, ब्रिजमोहन डंगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डंगौरालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (३) बमोजिम जन्मकैदको फैसला सुनाइएको छ ।

यी प्रतिवादीमध्ये श्रवण चौधरी नाबालक देखिएकोले निजलाई बालबालिका सम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार आधा सजायँ अर्थात् १० वर्ष कैद हुने फैसलामा उल्लेख छ ।

 

त्यस्तै, प्रतिवादीहरू लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डंगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी समेत १२ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७ (३) नम्बरबमोजिम ३ वर्ष कैद हुने ठहर अदालतले गरेको छ । यी प्रतिवादीमध्ये चुन्नीराम चौधरी २०७५ फागुन ३० गते थुनामुक्त हुने र अन्य ११ जनाको कैद अवधि भुक्तान भईसकेकाले बुधबार नै थुनामुक्त भएका छन् ।

प्रतिवादी करन चौधरीलाई बालबालिका ऐन, २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने ठहरेकोमा निजको पनि कैद भुक्तान भैसकेकोले आजै नै थुनामुक्त भएका हुन् ।

श्रेष्तेदार इन्द्र कठायतका अनुसार प्रस्तुत मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी ३ वटा बारदातको अभियोग लगाइएकोमा डाँका चोरीतर्फ सबै जनाले सफाई पाएका छन्, भने कर्तव्य ज्यान तथा जन्मकैद हुने ठहरेका १० जना प्रतिवादीले ज्यान सम्बन्धी महलको १५ नम्बरको कसुर अपराधमा तजविजी ५ वर्ष समेत थप सजाय र नाबालक श्रवण चौधरीलाई २ वर्ष ६ महिना कैद हुने ठहरे पनि मुलुकी ऐन दण्ड सजायको ४१ नम्बर बमोजिम ठूलो कलमको कैद तोकिएकोले प्रस्तुत कैद तोकी रहनु नपर्ने समेत फैसाला भएको छ ।

थारु सम्वद्ध संघसंस्थाद्धारा अदालतको फैसलाप्रति ध्यानाकर्षण

थारु सम्बद्ध संघर्ष समितिद्धारा सांसद रेशम चौधरीसहित ११ जनालाई अदालतले जन्मकैदको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । संघर्ष समितिले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै रेशम चौधरीसहितलाई थुनामुक्त गर्न सरकारको ध्यानाकर्षण गरेको बताएका छन् ।

थरुहट थारुवान संघर्ष समिति कैलाली, थरुहट थारुवान संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारिणी सभा कैलाली र थारु कल्याणकारिणी सभा कञ्चनपुरद्धारा जारी संयुक्त विज्ञप्तिमा ‘माननीय रेशम चौधरीलगायत ११ जना निर्दोष रहेको निजहरुलाई थुनामुक्त गर्न राज्यको ध्यान जान जरुरी रहेको लेखिएको छ ।

‘सामाजिक सद्भाव कायम गर्ने हो भने निजहरुलाई राजनीतिक मुद्दाको रूपमा लिइ निशर्त थुनामुक्त गर्ने वातावरण सिर्जना गर्न राज्यसंग आग्रह गरेका हौं।’ विज्ञप्ती मार्फत ३ वर्ष पश्चात पुर्पक्षमा रहेका ३ जना नरुल जागा, राम नरेश चौधरी र बिसराम कुश्मी निर्दोष रहेको अदालतले सफाई दिएकोमा टिकापुर राजवन्दी सबै निर्दोष रहेको कुरा सावित भएको महशुस गरेका छौं ।

टिकापुर मुद्दा समाधानको लागि सहयोग गर्ने सरोकारवालाहरुलाई आउने दिनमा सहयोगको अपेक्षा गर्दै विज्ञप्ती मार्फत धन्यवाद समेत ज्ञापन गरेको छ ।