टीकापुर घटना : बहस जारी, एक साताभित्रै फैसला हुने सम्भावना
धनगढी, १७ फागुन थरुहट÷थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको मुद्दामा बहस जारी रहेको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस जारी रहेको हो ।
झण्डै ४२ महिनापछि बुधवारदेखि तोकिएको पेशी अन्तर्गत बहस भैरहेको छ । बुधवार भएको बहसमा वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका थिए ।
त्यस्तै, शुक्रवार भएको सुनुवाईमा प्रतिवादीतर्फका अधिवक्ता नाथुराम महतो, मिलन राई, दिनमणि पोखरेलले बहस गरेको जिल्ला अदालत कैलालीका सूचना अधिकृत नरबहादुर नेगीले बताए ।
बहसको क्रम मंगलबारसम्म जारी रहने बहसमा संलग्न कानून व्यवसायी जोहारीलाल चौधरीले जानकारी दिए । उनले मुद्दाको फैसला पनि मंगलवार अथवा बुधवारभित्रै आउने अनुमान गरिएको बताए ।













