पानीको श्रोत व्यवस्थापन तथा दिगो संरक्षण हुन आवश्यक

धनगढी, १७ फागुन । पानीको स्रोत व्यवस्थापन र स्रोतको दिगो संरक्षण गनुपर्नेमा जोड दिएको छ। यूएसआइडी र अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्थाको सहकार्यमा सञ्चालित ‘दिगो जल विकास’ कार्यशाला कोष्ठिममा सहभागीहरुले पानीको दिगो व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन्।

अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्थाले दिगो जल विकास कार्यक्रम अन्तर्गत सन् २०१७ मा डोटीको मेलेख, पुनेवाटा र कैलालीको कुटी क्षेत्रमा बसोबास गर्ने ६४४ घरधुरीमा पानीको स्रोत कस्तो छ र व्यवस्थापन कसरी भैरहेको छ भनेर अनुसन्धान गरेको थियो।

सो अनुसन्धानबाट हिमाली तथा पहाडी क्षेत्रमा पानीको समस्या भएको त्यसमाथी पानीको सहि सदुपयोग नभएको पाइएको अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसन्धान अधिकृत इमा एस कार्कीले बताईन्।

धेरै दुरीसम्म पानी लिन जानुपर्ने समस्या पहाडी क्षेत्रका महिलाहरुले भोग्दै आएको र मानिसहरुले खेर गैरहेको पानीको सदुपयोग नगरेको पनि उनले बताईन्।

६४४ घरधुरीमा अनुसन्धानमा गर्दा ८४ दशमलब ५ प्रतिशतले ट्युबेलको पानी खाने गरेका छन् भने ३३ दशमलब २ प्रतिशतले सार्वजनिक धाराको पानी प्रयोग गर्दौ आएका छन्।

यस क्षेत्रका मानिस ७५ दशमलब ९ प्रतिशत भूमिगत पानी र ५४ प्रतिशत आकाशे पानीमा निर्भर रहेका छन्। ४ दशमलब ५ प्रतिशतसँग विद्युतीय पम्पसेट छ भने २० दशमलब ५ प्रतिशतसँग डिजेल पम्पसेट रेहको उनले बताईन्।

७७ प्रतिशत सिँचाई बाढी आएको बेला हुँने गरेको उनी बताउँछिन्। संस्थाका अनुसन्धानकर्ता तथा सिंचाई इन्जिनियर डा.भेषराज थापाले जल विकास कार्यक्रम मार्फत खेर गएको पानीको सदूपयोगका लागि सोलार,फिरफिरे सिँचाई तथा पोखरीको संरक्षणका लागि सहयोग गरेको बताए।

त्यसैगरी डोटीका किसान नर बहादुर खड्काले पोखरीमा जम्मा भएको पानीको खेर गैरहेको बेला अहिले पोखरी संरक्षणपछि त्यहाँको पानी प्रयोग गरी तरकारी खेती गरिरहेको बताए।

साथै किसानहरुले स्थानीय तहले पानीको दिगो व्यवस्थापन गरी किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने,पानीको स्रोतको अध्ययन र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने,स्रोतको दिगो संरक्षण गरिनुपर्ने लगायतका सुझाव समेत राखेका थिए।