एनसेलमाथिको आक्रमणको जिम्मा नेकपाले लियो

काठमाडौँ, १२ फाल्गुन । ललितपुरको नख्खुमा रहेको केन्द्रीय कार्यालय र देशभर एनसेल माथि गरिएको आक्रमणको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । फागुन १० गते राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी भएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेको, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक सङ्ख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकोले यो कारवाही गरिएको जनाए ।

नेकपा पार्टीले एक विज्ञप्ती जरी गरी एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको बताएको छ । उक्त विज्ञप्तीमा नेकपाले अहिले गरिएको कारवाही चेतावनीस्वरूप सांकेतिक मात्रै गरिएको समेत जनाएको छ । साथै यदि यसको अबज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ ।

नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको समेत जनाएको छ । उक्त दुर्घटनामा पार्टी दुखित भएको विज्ञप्तीमा उल्लेख गरिएके छ ।

यो घटनाको जिम्मा पार्टीले लिएको भन्दै उक्त पार्टीको मुखपत्र रातोखबर साप्ताहिकले समाचार समेत प्रकाशित गरिसकेको छ । रातो खबर साप्ताहिकको अनलाइन इरातोखबरमा घटनाको जिम्मा पार्टीले लिएको उल्लेख गरिएको छ ।