थारु र मधेसी आयोगमा प्रस्तावित अध्यक्षको सुनुवाइ हुँदै
काठमाडौं, १२ फागुन । थारु आयोगको अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षमा प्रस्तावित विजयकुमार दत्तको आज सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ समितिले अध्यक्षद्वय चौधरी र दत्तलाई आज छलफलमा बोलाएको छ ।
यसअघि, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा प्रस्तावित डा.शान्तराज सुवेदीको सुनुवाइ भइसकेको छ । तथापि, दुवैको नाम अनुमोदन गर्न/नगर्नेबारे निर्णय समितिले गरेको छैन ।
मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम अन्सारीका विषयमा भने सुनुवाई समितिले अन्सारीविरुद्ध परेको उजुरीका सम्बन्धमा छलफल गरिरहेको जनाएको छ । अन्सारीको शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेको थियो । उनको नागरिकता लगायतका विषयमा पनि प्रश्न उठेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय सुनुवाइ समितिका बैठक लगातार बहिष्कार गर्दै आएको छ ।
संवैधानिक परिषदले संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई सहभागि नगराएको आरोप लगाउँदै कांग्रेसले सुनुवाई समितिका बैठकमा भाग नलिएको बताउँदै आएको छ । अनलाइनखबरबाट













