कमैया बस्तीमा समस्याको पोकोः घर अन्ध्यारो, स्वास्थ्य उपचार शून्य
धनगढी, ७ फागुन । कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर मुक्त कमैया शिविर समस्यै समस्याले गुज्रिरहेको छ । २०६४ सालदेखि बसोबास गर्दै आएको सो शिविरमा ६२ घरधुरी हाल सम्म पुनःस्थापना हुन बाँकी छन् ।
शिविरका अगुवा रमिता चौधरीका अनुसार ‘खानेपानीको समस्यासंगै सचिाईको पनि समस्या छ । आरसिनिक बढिमात्रमा देखिएको नल्काको पानी खान्छौं, गर्मी मौसममा त्यो पानीपनि सुकेर जान्छ ।’ बस्तीमा सिचाईको समस्याले तरकारी खेतीपनि गर्न सक्ने अवस्था न्यून रहेको चौधरीले बताईन् ।
उनले भनिन् ‘गाउँमा स्वाथ्य उपचार शून्य छ, ६२ घरधुरी छौं, छिमेकमा कोही दुख विरामी परेपछि सिधै धनगढी जानुपर्ने बाध्यता छ । गाउँमा मेडिकल समेत छैन, जसले गर्दा सानो तिनो विरामीलाई पनि बजार धाउनुपर्ने बाध्यता छ ।’
बसन्ता कोरिडोर वनक्षेत्रको खाली जमिनमा घर बनाएर बसोबास गरेका मुक्त कमयाहरु बाँच्नलाई अत्यावश्यक आधारभूत आवश्यकता उपभोग गर्न नपाएको गुनासो समेत गर्दछन् ।
बस्तीका अगुवा विनोद चौधरीले भने ‘बस्ती बसेपनि जिबिकोपार्जन गर्ने स्रोत केही छैन, तरकारी खेति गरौं पानी छैन, वरपर जंगलले घेरिएको छ । मजदुरीको लागि पनि बजार धाउनुपर्ने बाध्यता छ ।’ गाउँमा खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य चौकी केही छैन । समस्यै समस्याको पोको लिएर बाँचिरहेका छौं ।
बस्तीले सञ्चालन गरेको श्री बुटकहुवा प्राविमा कक्षा तीन सम्म सञ्चालनमा छ । तर सो विद्यालयमा सरकारी दरबन्दी छैन् । शिविरले नै पैसा उठाएर स्कुल सञ्चालनमा ल्याएको चौधरीले बताए ।
उनले उत्पादन गर्ने जमिन नभएको कारण छोरा मान्छे सानै उमेरमा कामको खोजीमा छिमेकी देश भारत जाने गरेको बताए । गाउँमा प्राय बुढा पाखा र महिला मात्रै बस्ने गरेको उनले बताए ।
बस्तीमा ८ जना रातो कार्ड, २४ जना निलो कार्ड, २ जना पहेलो र ४ जना सेतो कार्ड गरि ३८ जनाले कार्ड पाएका छन् भने बाँकी २४ जना छुट कमैया भित्र पर्दछन् ।
तत्कालीन सरकारले तराईमा प्रचलित कमैया प्रथालाई उन्मूलन गर्ने भन्दै वि.सं. २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । तर कैलालीमा ८ हजार ९१० परिवार मुक्तकमैया रहेका थिए । आर्थिक वर्ष २०७४/०७५ सम्म ८ हजार २५५ परिवारको पुनःस्थापना भइसकेको छ ।
४८२ परिवारको पुनःस्थापना हुन बाँकी रहेको जिल्ला भूमिसुधार कार्यालय कैलालीका कमैयाफाँटका सुपरभाइजर अमरबहादुर चौधरीले बताए ।
उनले ४४० परिवारको सट्टा भर्ना गर्नुपर्ने देखिएकाले सिफारिस गरिएको तर मन्त्रालयबाट अहिलेसम्म स्वीकृत नभएको जानकारी दिए ।
पछिल्लो अवस्थामा कमैया प्रथा उन्मुलन समाजले मिलनपुर मुक्त कमैया शिविरको अवस्था पहिचान गरि सो क्षेत्रको समस्या, चुनौती र सम्भावनालाई विशलेषण गर्न बस्ती बस्तीमा कार्यक्रम सञ्चालन गर्ने समाजका अध्यक्ष बसन्ती चौधरीले बताईन् ।
उनले मुक्त कमैयाहरुको हक अधिकार र मर्यादा सवलीकरण परियोजना सञ्चालन गरि समस्या पहिचान गर्ने, विकल्पको खोज गर्ने र समाधानको उपाय निकाल्न समुदायलाई नै उत्प्रेरित गर्ने परियोजनाको लक्ष्ये रहेको बताईन् ।













