‘नगर शिक्षा ऐन चाडै कार्यान्वयनमा आउँछ’
धनगढी, ६ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरशिक्षा ऐन पास भैसकेकाले चाँडै कार्यान्वयनमा ल्याईने बताएका छन् ।
सोमबार सिडलिङ्ग जोन मन्टेश्वरी स्कुलको छैठौं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नगरप्रमुख वडले ऐनको कार्यान्वयनले शिक्षा क्षेत्रमा देखिएका अन्यौलता हटाउने बताए । निजी र सामुदायीक विद्यालयहरुको ब्यबस्थापनका लागि नगर शिक्षा ऐनको कार्यान्वयन महत्वपूर्ण रहेको बताए ।
नगरप्रमुख वडले सिडलिङ्ग जोन जस्ता मन्टेश्वरी विद्यालयबाट अन्य विद्यालयहरुले राम्रा अभ्यासहरु सिक्नुपर्ने बताउदै सामुदायीक विद्यालय सरह निजी विद्यालयको नियमन गरिने बताए । उनले निजी विद्यालयले गरेका राम्रा अभ्यासहरु सामुदायीक विद्यालयहरुले पनि सिक्न सक्ने बताए । वडले निजी क्षेत्रबाट संचालन भएका विद्यालयलाई प्रोत्साहित गर्ने पक्षमा वकालत गर्न तयार रहेको बताए ।
निजी र सामुदायीक विद्यालय एक अर्काका परिपुरक भएको बताउदै नगरप्रमुख वडले भने, निजी र सामुदायीक विद्यालयलाई एउटै नितीबाट संचालन गरिनुपर्छ । धनगढीले प्रदेशकै शिक्षा नितीलाई प्रभावित गर्न सक्ने बताउदै नगरप्रमुख वडले भने,‘त्यस कारण पनि हामीले सबै क्षेत्रको असल नेतृत्व लिन सक्नुपर्छ ।’
विद्यालयले चाहेर मात्रै पनि पढाईको गुणस्तरमा सुधार आउन नसक्ने बताउदै नगरप्रमुख वडले भने,‘ त्यसका लागि अभिभावक, विद्यार्थीको भूमिका पनि रहन्छ । सिडलिङ्ग जोन मन्टेश्वरी स्कुलका अध्यक्ष हरी रेग्मीले उप–महानगरपालिकाले चाहेमा आफुहरु साझेदारी गरेर अगाडी बढ्न तयार रहेको बताए ।
उनले भने,शुल्क तिर्न सक्ने विद्यार्थीबाट उठेको रकमले शुल्क तिर्न नसक्ने वालबालिकाहरुलाई पढाउन सकिन्छ । त्यसैगरी सोमबार नै धनगढीको हसनपुर स्थीत नन्दीनाज मन्टेश्वरी स्कुलको बार्षिकोत्सव कार्यक्रमको नगरप्रमुख वडले उद्घाटन गरेका छन् ।













