सिंचाई अभावले ७० बर्षदेखि जमिन बाझैँ
कालिकोट, ६ फागुन । जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिंचाई सुबिधाको अभावले ७० बर्षदेखि १ हजार हेक्टर जमिन बाझैँ रहेको छ ।
सो क्षेत्रका स्थानीय बासीहरुको भनाईअनुसार पहिला सिंचाई सुबिधा हुदाँ राम्रो अन्नबाली फल्ने जमिन अहिले सिंचाई सुबिधा नहुँदा जमिन बाझैँ छाडेर बसाई सरेको बताए । हाल सो जमिन खण्डहर बनेको छ ।
खाँडाचक्र नगरपालिका वडा नंं ६ का १ सय जनाको नाममा रहेको जमिन सिंचाई सुबिधा र खानेपानीको समस्याले जमिन बाझो भएर चौरमा परिणत भएको स्थानीय मनसिंह शाहीको भनाई छ । ‘यो बाझोँ रहेको जमिन एक सय जनाको नाममा रहेको छ ।’ उनले भने,‘७० बर्ष जति भयो यहाँ बाली लगाउन छाडिएको छ ।’
सिंचाई नहुँदा बस्ती स¥र्यो
७० बर्ष अघि सिंचाई सुबिधा र खानेपानीको सुबिधा हुदा बाक्लो बस्ती रहेको माथिल्लो सेराबाडामा अहिले घर देख्न छोडियो । केवल घरका भित्ताहरु भग्नाभेषमा रहेको त्यो ठाउँमा अहिले बाझो जमिन मात्र देख्न सकिन्छ ।
पहिला माथिल्लो सेरावाडामा बाक्लो बस्ती रहेको खानेपानी र सिंचाईका कारणले त्यो बस्ती अहिले अन्यत्रै सरेको वडा अध्यक्ष जगदिश शाहीले बताए । ‘बिगतमा त्यहाँ ठुलो बस्ती रहेको थियो ।’ उनले भने,‘खानेपानी र सिंचाई सुबिधाको अभावका कारणले त्यो बस्ती अन्यतै स¥र्यौ ।’
सिंचाई सुबिधा भएको भए मलिलो माटो भएको माथिल्लो सेरावाडामा राम्रो खाद्यान्न बाली हुने वडा अध्यक्ष शाहीले बताए । ‘त्यो ठाउँमा निकै मलिलो माटो रहेको छ ।’ उनले भने,‘सिंचाई सुबिधा हुने हो निकै राम्रो खाद्यान्न बाली हुने थियो ।’
बन्द भयो बिद्यालय
बस्ती सरेपछि माथिल्लो सेरावाडामा रहेको बिद्यालय मर्ज गरिएको छ । बस्ती नै सरेपछि बिद्यार्थीहरुपनि सो विद्यालय जान छोडेपछि उक्त बिद्यालय मर्ज गरिएको हो ।
विगतमा बाक्लो बस्ती भएका कारणले त्यहाँ सेरावाडा प्राथामिक बिद्यालय थियो । तर खडेरी पश्चात बस्ती नै अन्यन्त्र सरेका कारणले बिद्यालयमा बिद्यार्थी आउन छोडेपछि २०६५ सालमा त्यो बिद्यालयलाई तल्लो सेरावाडा र दाहामा मर्ज गरिएको स्थानीय नैनबहादुर शाहीले बताए ।













