फागुन १५ गतेकोे पेसीमा टीकापुर राजबन्दीलाई उपस्थित हुन अदालतको पत्राचार

धनगढी, ५ फागुन । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका राजबन्दीहरुलाई अदालतमा उपस्थित हुन पत्राचार गरेको छ । राजपा सांसद रेशम चौधरी, थारु नेता तथा राजपा लक्ष्मण थारु सहित ५८ जनालाई अदालतमा उपस्थित हुन कैलाली जिल्ला अदालतले पत्र काटेको हो । अदालतले फागुन १५ गते पेसी तोकेको छ । टीकापुर घटनाको आरोपमा विभिन्न करागारमा राखिएका राजबन्दीहरुलाई उपस्थित हुन पत्र काटेको हो ।

टीकापुर घटनाका आरोपित २३ जना कैलाली जिल्ला कारागारमा राखिएका छन् भने लक्ष्मण थारुलाई केन्द्रिय कारागार (सेन्ट्रलजोल), सांसद रेशम चौधरीलाई सदर जेल, करण र श्रवण चौधरीलाई पोखरा स्थित बाल सुधारगृहमा राखिएको छ ।

थारु नेता लक्ष्मण थारुलाई उपचारको लागि माघको दोस्रो साता उपचारको लागि काठमाडौ लगेको थियो । नेता थारुले आफू पूर्णरुपले स्वस्थ भईसकेको बताएका छन् ।

चिकित्सकका अनुसार हाल आफूमा कुनै खालको शारीरिक समस्या नभएकोले कैलाली कारागारमा सरुवा गराई साक्षी बकपत्र गराउँदा सहभागी हुने अवसर जुटाइदिन माग समेत गरेका थिए । तर उनी २७ गतेको साक्षी बकपत्रमा उपस्थित हुन पाएनन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले कैलाली कारागारले चिठ्ठी पठाएपछि मात्रै लक्ष्मणको सरुवा गर्न सकिने बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले अदालतले पेशीमा उपस्थितिको लागि पत्र काटिसकेपछि सबैजना उपस्थित हुनपाउँनुपर्ने बताए । हाम्रो तर्फबाट कुनै छेकबार नरहेकोपनि प्रष्ट पारे ।

अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । तर उनीहरुको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।