सामुदायिक विद्यालयलाई बिश्वास गर्न नगरप्रमुखको आग्रह
धनगढी, २९ माघ । सामुदायिक विद्यालयलाई बिश्वस गर्न धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अभिभावकसंग आग्रह गरेका छन् ।
धनगढी उप–महानगरपालिका १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयको ५८ औं बार्षिकोत्सव कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख वडले यस्तो आग्रह गरेका हुन ।
‘शिक्षक सेवा आयोग पास गरेर आएका शिक्षकहरु छन्, भौतिक पूर्वाधार सहित निशुल्क पठनपाठनको ब्यबस्था राज्यले गरेको छ । अभिभावकहरुले नै सामुदायिक विद्यालयलाई बिश्वास गरेको छैन ।’
उनले पढाईको गुणस्तरमा सुधार गर्ने विद्यालयलाई सहयोग बढाएर दिने बताए । ‘तपाईहरु शिक्षक सेवा पास गरेर आउनु भएका शिक्षकहरु हुनुहुन्छ नगरप्रमुख वडले भने, ब्यक्तिले भर्ना गरेका तपाईहरु भन्दा थोरै सेवा सुविधा दिने निजी विद्यालयका शिक्षकहरुले पढाउदा कसरी गुणस्तर राम्रो हुन सक्छ ।’
नगरप्रमुख वडले सामुदायिक विद्यालयका शिक्षक र अभिभावकका लागि यो चुनौतीको बिषय भएको पनि बताए । अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको विद्यालयको पढाई सुधार गर्न सामान भूमिका रहेको बताए ।
उनले प्राविधीक बिषय पठनपाठन गराउनका लागि तयारी थाल्न पनि शिक्षक र अभिभावकहरुसंग आग्रह गरेका छन् । नयाँ शैक्षिकसत्र बाट धनगढीका बढी भन्दा बढी विद्यालयमा प्राविधीक धारको पठनपाठन गराउने निति नगरपालिकाले लिएको बताए ।
बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले विद्यालयमा पूर्वाधारको अभाव भएको बताए । उनले भने, विद्यार्थीको तुलनामा शिक्षक दरवन्दी समेत अभाव रहेको छ ।













