रकम संकलन गरेको ६ वर्ष सम्मपनि विद्युत आएन, स्थानीयहरु आन्दोलित

सुखड, २९ माघ । घोडाघोडी विद्युत सहकारीले रकम संकलन गरेको ६ बर्षसम्म पनि विद्युत विस्तार नगरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।

घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ का स्थानीयले सहकारीको कार्यालयमा ताला लगाएर आन्दोलन थालेका छन् ।

उनीहरुले विद्युतको माग गर्दै जन प्रतिनिधि, वडा कार्यालय धाएका थिए । विद्युतिकरणको काम नभएपछि सहकारीको कार्यालयमा तालाबन्दी गर्दै आन्दोलन गरेका छन् ।

उनीहरुले आफुहरुलाई विद्युतीकरण नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । घोडाघोडी देउकलीयाका काशिराम बोहराले जनताले पटक पटक सहकारीलाई आग्रह गर्दा पनि विद्युत विस्तारको काम नभएको भन्दै आक्रोस व्यक्त गरे ।

सहकारीले जनताहरुबाट प्रति घरधुरी १ हजार ५ सय, २ हजार ५ सय र ३ हजारका दरले रकम संकलन गरेको थियो । रकम संकलन गरेको केही महिनामै गाउँ गाउँमा विद्युत पुर्योने भनेर बाचा गरेको थियो । छ वर्ष पुगि सक्दा समेत विद्युत नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्र्रिएका हुन् ।

प्रदेश सरकारको ध्यानाकर्षण

स्थानीय जनता विद्युत माग गर्दै घोडाघोडी विद्युत सहकारीमा ताला लगाउन थालेपछि प्रदेश सरकारले सो विषयमा चासो देखाएको छ ।
घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाँउपालिकाका जनताले विद्युतीकरणका लागि घोडाघोडी विद्युत सहकारीलाई रकम बुझाएको बारेमा तीन ओटै स्थानीय तहका जनताले सहकारीलाई बुझाएको रकमको तथ्याँक संकलन गर्ने योजनामा प्रदेश सरकार लागेको छ ।

स्थानीय सरकारसंगको सहकार्य गरेर अध्ययन गर्ने सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले बताइन् । उनले प्रदेश सरकारलाई विद्युत सहकारीले ठगेको गुनासो पनि आएकाले घोडाघोडी विद्युत सहकारीसहितको अध्यानका लागि समिति गठन हुने बताइन् ।

जनताहरुबाट संकलन भएको रकमको हिनामिना गर्ने विद्युत सहकारीलाई प्रदेशको सहकारी नीति अनुसार कारबाही गर्ने बताएको छ ।
मन्त्री चौधरीले भनिन् ‘अध्यानका लागि समिति गठन हुन्छ । जनताबाट रकम संकलन गर्दा सम्झौता के थियो ? विद्युत सहकारीले कति समयमा विद्युत सेवा विस्तार गर्नु पर्ने हो ? रकम तिर्ने जनताको संख्या कति हो ? त्यो बारेमा समितिले अध्ययान गर्ने छ ।’

समितिले विद्युत सहकारीको कामलाई अध्यान गरेपछि प्रदेशको सहकारी ऐन अनुसार कारबाही हुने मन्त्री चौधरीको दाबी छ ।