अपाङ्ग स्याहार गृहको उद्घाटन

धनगढी, २८ माघ । धनगढी उप–महानगरपालिका र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र कैलाली शाखाको साझेदारीमा धनगढीको गेटामा अपाङ्ग भएका ब्यक्तिहरुका लागि स्याहार गृह संचालनमा ल्याईएको छ ।
सोमबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त स्याहार गृहको उद्घाटन गरेका हुन । नगरप्रमुख वडले धनगढीलाई मानवताको शहर बनाउने अभियान अन्तरगत अति अशक्त अपाङ्गता भएका ब्यक्तिका लागि स्याहार गृह संचालनमा ल्याईएको बताए । उनले भने,अपाङ्ग अशक्तहरु पनि हाम्रा नागरिक हुन उनिहरुले बाँच्न पाउनुपर्छ । नगरप्रमुख वडले यो पवित्र अभियानमा सहयोग गर्न सबै संग आग्रह गरे ।
नेपाल अपाङ्ग संघका केन्द्रिय अध्यक्ष मोहन महर्जनले गेटालाई अपाङ्ग ग्रामको रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले भने, यसको अर्थ भनेको अपाङ्गले पाउनुपर्ने सेवा एउटै ठाउँबाट पाउनुपर्छ भन्ने हो । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका अध्यक्ष उत्तम जोशीले आफुहरु यस अपाङ्ग स्याहार गृहलाई सहयोग गर्न तयार भएको बताए ।
नेपाल अपाङ्ग संघ कैलालीका पूर्व अध्यक्ष तारानाथ ओझाले अपाङ्ग संघ स्थापनाको ईतिहास बताए । उनले भने, यो पवित्र भावले जन्मीएको संस्था हो यसलाई फलाउने फुलाउने काम यहाँहरुको काँधमा आएको छ ।
सोही कार्यक्रममा स्याहार गृह संचालनका लागि भन्दै नेपाल अपाङ्ग संघका केन्द्रिय अध्यक्ष मोहन महर्जनले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र कैलाली शाखाका अध्यक्ष दिपक भण्डारीलाई तीन लाखको चेक हस्तान्तरण गरे । त्यसैगरी नेपाल अपाङ्ग संघ धनुषाका अध्यक्ष शिवचन्द्र शाहले नगद ५ हजार सहयोग गरे भने नेपाल अपाङ्ग संघ कैलालीका पूर्व अध्यक्ष तारानाथ ओझाले एक क्वीन्टल चामल सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र कैलाली शाखाका अध्यक्ष दिपक भण्डारीले सहयोगि हातहरुको यस्तै सहयोग रहेमा स्याहार केन्द्र संचालन गर्न समस्या नहुने बताए । यस स्याहार केन्द्रमा अहिले ३ जना अति अपाङ्गहरु स्याहारका लागि राखिएका छन् । २ जना स्यहार गर्ने ब्यक्तिको ब्यबस्था गरिएको छ ।